• १९ असार २०८१, बुधबार

स्वदेशमै रोजगारी अभिवृद्धि गर्ने नीति सरकारले अनुसरण गरेन : नेता रावल

blog

तस्बिर : केशब गुरुङ

काठमाडौं, जेठ ५ गते । नेकपा (एमाले)का सांसद भीमबहादुर रावलले स्वदेशमै रोजगारी अभिवृद्धि गर्ने नेपालको संविधानमा उल्लिखित नीति सरकारले अनुसरण नगरेको आरोप लगाउनुभएको छ ।

प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०७९–८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतासम्बन्धमा जारी छलफलमा भाग लिनुहुँदै सांसद रावलले सो कुरा बताउनुभएको हो ।

‘‘श्रम र रोजगारसम्बन्धी नीतिमा श्रम शक्तिलाई दक्ष र व्यावसायिक बनाउने र स्वदेशमै रोजगारी अभिवृद्धि गर्ने नेपालको संविधानमा उल्लिखित नीति सरकारले अनुसरण गरेको देखिएन ।,’’ उहाँले भन्नुभयो ।
त्यस्तै, उहाँले देशमा विदेशी जनशक्ति भित्र्याउने गलत नीति सरकारले परिवर्तन गर्नुपर्ने बताउनुभएको छ ।

‘‘देशको जनशक्तिलाई निर्यात गर्ने र देशमा विदेशी जनशक्तिलाई भित्र्याउने गलत नीति परिवर्तन गर्न सरकार तयार छ कि छैन ?, श्रम अनुमति नीतिलाई कडाइका साथ लागू गर्न सरकार तत्पर छ कि छैन ? सरकार किन मौन ?,’’ रावलले प्रश्न गर्नुभयो ।

यसैगरी, छाला जुत्ता उद्योगमा काम गर्ने भारतीयहरुको सङ्ख्या झण्डै ६० प्रतिशत रहेको उहाँको दाबी छ । 

उहाँले भन्नुभयो, ‘‘उनीहरुले वार्षिक १५ अर्बभन्दा बढी रुपियाँ नेपालबाट बाहिर लैजाने उद्योग व्यवसायीहरुको भनाइ छ । यो कुरा गठबन्धन सरकारले सुनेको छ कि छैन ?’’

त्यस्तै, उहाँले नदी जलस्रोतको सदुपयोग गर्ने नीति स्पष्ट हुनुपर्ने सुझाव दिनुभयो ।

‘‘नेपालका रणनीतिक महत्वका कोशी, गण्डकी, कर्णाली र महाकाली नदी विदेशीको हातमा जाने गरी विगतमा भएका सन्धिसम्झौतामा भएका गल्ती दोहोरिन नदिई अब उपरान्त नेपालको समग्र दीर्घकालीन हित सुरक्षा र आवश्यकता अनुरुप समग्र नदी जलस्रोतको सदुपयोग गरिने नीति स्पष्ट गरिनुपर्छ ।,’’ सांसद रावलले भन्नुभयो ।