बोमलाल गिरी
नवलपुर, मंसिर १९ गते । सामाजिक विकास कार्यालयको आयोजनामा जिल्ला सदरमु्काम कावासोती –२ को मनकामना आमा समूहको भवनमा विद्यालयस्तरीय बक्तृत्वकला प्रतियोगिता चलिरहेको छ । जसको शीर्षक छ ‘ज्येष्ठ नागरिकप्रति हाम्रो कर्तब्य’ । यो शीर्षकमा बोल्ने बालबालिकाले खुलेर आफ्नो कर्तब्य सम्झेका छन् ।
‘‘ज्येष्ठ नागरिक समाजका अमूल्य गहना हुन्, हामीलाई सही बाटोमा लैजान उहाँहरुको अमूल्य योगदान छ, बक्तृत्वकलामा प्रथम हुन सफल कावासोती –१७ ढोकीस्थित जनता बाल माविमा अध्ययनरत संस्कृति पौडेलले भन्नुभयो, ‘‘मेरो पनि उहाँहरुप्रति अपार दायित्व छ, माया, सदभाव र आदर छ, सिष्ट हुनुपर्छ, नम्र भएर बोल्नुपर्छ । यो अवस्थामा ज्येष्ठ नागरिकलाई धन दौलत, सुनचाँदी चाहिदैन, बरु उहाँहरु स्नेहका भोको हुनुहुन्छ भन्ने हामीले बुझ्नु पर्छ ।’’
‘‘कतिपय छोराछोरी त कति निष्ठुरी हुँदा रहेछन्, माया नै नलाग्नेगरी आफ्नै आमाबाबालाई पनि बृद्धाश्रममा लगेर राख्दा रहेछन्, जनक मावि देवचुलीमा कक्षा ९ मा अध्ययनरत अर्की छात्रा गरिमा अधिकारीले भन्नुभयो, ‘‘हामीलाई यहाँसम्म ल्याउनमा उहाँहरुको कम योगदान छैन, हामी बुढेसकालको सहारा बन्न सक्नुपर्छ । उहाँहरुले टेक्ने लौरीजस्तै बन्नुपर्छ ।’’
यी कलिला विद्यार्थीले यसो भनिरहँदा भवनको बाहिरपट्टी रहेको मनकामना मन्दिर परिसरमा २०–२२ जना बुवाआमा हरे राम, हरे कृष्ण भन्दै भजनकृतनमा तल्लिन हुनुहुन्थ्यो । कसैले मादल, कसैले खैजडी र मजुर बजाइरहनु भएको थियो । प्रायः सबै उमेरले ७० कटिसक्नु भएको छ ।
कावासोती –८ की देवकी पराजुली ९१ वर्ष नाघिसक्नु भयो । सुगर र बाथले राम्रोसँग बस्न गाह्रो भएर होला उहाँ मन्दिर परिसरमा ओच्छ्याइएको म्याटमा पल्टेर एउटा हातले भुँइ पिट्दै खैँजडीमा तालमा ताल मिलाइरहनु भएको थियो ।
५ वर्ष बृन्दावन, ५ वर्ष देवघाटलगायत कुरुक्षेत्र, हरिद्वार धेरैतिर तीर्थ गरिसक्नुभयो । ३५ वर्षको उमेरमा १० सन्तानकी आमा बनेपछि श्रीमानले सदाका लागि साथ छाडेर जानुभयो । घर बस्न झ्याउ लाग्ने उहाँलाई बुहारीले डोरयाउँदै मन्दिर पुर्याउने साँझ मन्दिरबाट घर पुर्याउने गरेको पराजुलीले सुनाउनुभयो ।
बुढेसकालमा आफूले खासै दुःख नपाए पनि लामो समय देवघाट र बृन्दावन वस्दा धेरै बुढाबुढीको पीडानजिकबाट नियालेको उहाँले सुनाउनुभयो । ‘‘कतिपयका छोराछोरीले नै बाआमाले गरेको संघर्ष पनि बिर्सदा रहेछन् र बुढेसकालको सहारा बन्ने बेलामा बृद्धाश्रममा लगेर राखिदिँदा रहेछन्, देवघाटमा कुटि बनाएको राखेको बताउँदै पराजुलीले भन्नुभयो, ‘‘मर्ने बेला कसैको भार बन्न नपाए हुन्थ्यो ।’’
८२ वर्षीया हरिकला चालिसेलाई पनि घरमा बस्नभन्दा मन्दिरमा आएर भजनकृतन गरेर दिन बिताउन पाउँदा मन आनन्दित हुनेगर्छ । छेउमा बसेर खैँजडी बजाइरहेका ८१ वर्षीय रेशमराज खरालको अवस्था पनि उस्तै हो । ‘छोराछोरी हुर्के, आ–आफ्नो कर्ममा व्यस्त छन्, दिनभरी घरमा एक्लै बस्नुभन्दा यतै आउँदा सजिलै दिन बित्छ’’ खरालले भन्नुभयो ।
भित्र भवनमा ज्येष्ठ नागरिकका बारेमा बहस भइरहेको सुने पनि आफूहरुलाई कुनै वास्ता नभएको उहाँले बताउनुभयो । ‘‘यो उमेरमा अरु धेरै रहर छैन, सबै छोराछोरी बुढेसकालका सहारा बनुन्’’ खरालले बन्नुभयो । विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०५० सम्म कुल जनसंख्याको २२ प्रतिशत ज्येष्ठ नागरिक हुने छन् ।