• २० मंसिर २०८१, बिहिबार

बालबालिकाको संरक्षण नहुँदा बढ्दै जबरजस्तीका घटना

blog

तम्घासका सडक बालबालिका थ्रिडी पार्कमा रमाउँदै । तस्बिरः तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, मङ्सिर १९ गते । गुल्मीमा सडक बालबालिकाको उचित व्यवस्थापन हुन नसक्दा सडक बालिकामाथि जबरजस्ती करणी भएको छ । सदरमुकाम तम्घासमा १२ वर्षीया सडक बालिकामाथि मालिका गाउँपालिका वडा नम्वर ४ का  १८ वर्षीय  मदन भनिने छवबहादुर घर्तीले जबरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

घर्तीले बालिकालाई मङ्सिर २ गते तम्घासको एक होटलमा ललाइफकाई गरेर जबरजस्ती करणी गरेर फरार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिनुभयो । 

बालिकाको स्वास्थ्य अवस्था नाजुक हुँदै गएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सोही आधारमा घर्तीलाई केही दिन पहिले प्रहरीले पक्राउ गरेको छ । निजलाई जिल्ला अदालतमा पेस गरी अदालतबाट ७ दिनको म्याद थप भएपछि थप अनुसन्धान जारी रहेको पोखरेलले बताउनुभयो । 

बालिकाको स्वास्थ्य उपचारलाई निरन्तरता दिँदैआएको र होटलमा पनि थप निगरानी बढाएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । गुल्मीमा सडक बालबालिकाको उचित दीर्घकालीन व्यवस्थापन हुन नसक्दा थप चुनौती थपिएको छ । सदरमुकाम तम्घासमै सडक बालबालिकाहरु माग्दै हिँड्ने, नदिएमा खोस्ने र कुटनेजस्ता घटना बढेका छन् ।  

सडक बालबालिकाको व्यवस्थापनका लागि अल्पकालीनका केही काम भए पनि दीर्घकालीन समाधानका लागि यहाँका सरोकारवालाले त्यति चेस्टा दिएको पाइँदैन । केही समय पहिले करिव सात लाख रुपियाँ खर्चेर केही महिना महेन्द्र माध्यमिक विद्यालयमा होस्टेलको व्यवस्था गरी राखिएको थियो । 

त्यसपछि विद्यालयमा नियमित जानेगरी व्यवस्था गरे पनि उनीहरु विद्यालयमा नगई पुनः पहिलेकै अवस्थामा आएका छन् । सदरमुकाम तम्घासमा पहिले १८ जना सडक बालबालिका रहेको र पछि थप हुँदै जान थालेको स्थानीयहरुले जनाएका छन् ।

रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बाबुआमा कोही नभएका त्यस्ता पीडितलाई संरक्षण गर्न पालिका तयार रहेको बताउनुभयो । सडक बालबालिकाको दीर्घकालीन उचित व्यवस्थापनका लागि नगरपालिका एक्लै नभ सबैको साथ र सहयोग आवश्यक रहेको उहाँको भनाइ छ ।