दीलिपमान स्थापित
भाइबहिनीहरूले बौद्ध धर्मावलम्बीको मठ, गुम्बा, चैत्य आदि ठाउँमा जाँदा रङ्गीबिरङ्गी कपडा झुन्ड्याइएको पक्कै देख्नुभएको होला । यसबारे हामीमध्ये कतिपयलाई जानकारी नहुन सक्छ । यसलाई बौद्ध धर्ममा लुङ्ता भनिन्छ । यसले विशेष महत्व राख्दछ ।
लुङ्ता शब्दमा रहेको लुङले पञ्चतत्व पृथ्वी, जल, अग्नि, वायु र ब्रह्माण्डलाई जनाउँछ । अर्थात् लुङको अर्थ सर्वव्यापी र ताको अर्थ उच्च वेगको घोडा हुन्छ । त्यस्तै तिब्बतीका लागि लुङ्ता मङ्गलको प्रतीक मानिन्छ । जन्मदिन, नयाँ वर्ष वा अन्य कुनै महोत्सवको बेला लुङ्ता झुन्ड्याउने चलन हुन्छ । तिब्बती प्रचलन र संस्कार अनुसार लुङ्ता भन्नाले वायुकै तेज बराबरको अर्थात् वायुपङ्खी घोडा भन्ने पनि बुझिन्छ ।
लुङ्ता राख्नाले शुभकार्य हुने, मनोकाङ्क्षा पूरा हुने, पुण्य प्राप्त हुने धार्मिक मान्यता रहँदै आएको छ । हिमाली भेगका गोठालाले आफ्नो त्रिपालमा लुङ्ता झुन्ड्याएर घुमन्ते जीवनको सुरक्षाको कामना गर्दछन् । तीर्थयात्री सुनसान स्थानमा आकर्षक लुङ्ता झुन्ड्याएर मङ्गलको कामना गर्दछन् भने पर्वतीय इलाकामा घरको अग्लो स्थानमा लुङ्ता फहराएर देवताप्रति आफ्नो आदर प्रकट गर्दछन् । सहरबजारका व्यक्तिगत घरमा पनि लुङ्ता फहराउने चलन छ ।
लुङ्ता स्वर्ग, पृथ्वी, मानव र पशुको मङ्गलको प्रतीक हो । लुङ्ताको मध्य भागमा घोडाको चित्र हुन्छ । अन्य पशुपन्छीको पनि चित्र उल्लेख हुन्छ । तिनको फरक फरक अर्थ रहन्छ । जसमध्ये गरुड आयु र प्राणवृद्धिको, बाघ सुखशान्ति र समृद्धिको, मेघ भाग्य अभिवृद्धिको, सिंह शुभमङ्गल वा पुण्यको तथा वायुपङ्खी घोडा साहस र परिश्रमको प्रतीक मानिन्छ । कपडाको चारैतिर बौद्ध सूत्र (मन्त्र) अङ्कित हुन्छ ।
कपडालाई ध्वजा बनाए रुख, काठ वा डोरीमा बाँधी खुला ठाउँमा राखिन्छ । जसले गर्दा हावामा झुलिरहेको लुङ्ता देख्दा मन आनन्दित भएर शान्तिको आभास हुन्छ । १२ औँ शताब्दीमा तिब्बतमा धार्मिक उपदेश प्रचार गर्न लुङ्ता फहराउन थालिएको तिब्बती धार्मिक ग्रन्थ वा शास्त्रमा उल्लेख गरिएको पाइन्छ ।