• १९ मंसिर २०८१, बुधबार

बुटवल–गोरुसिङ्गे सडक निर्माणको काम माघदेखि

blog

बुटवल–गोरुसिङ्गे सडकखण्डको रामपुर क्षेत्रको भाग ।

बुटवल समाचारदाता 

बुटवल, मङ्सिर १९ गते । बुटवल–गोरुसिङ्गे सडक विस्तारका लागि निर्माण व्यवसायीले सडक क्षेत्रमा पूर्वतयारीको काम सुरु गरे पनि सडक खन्ने काम भने अझै दुई महिना ढिलो हुने भएको छ । बुटवल–गोरुसिङ्गे सडक आयोजना कार्यालय बुटवलले निर्माण व्यवसायीले सडक विस्तार गर्नुअघिको काम जस्तै सर्भे, माटो परीक्षण, रुख कटानको तयारीलगायतका काम गरिरहेको छ । 

आयोजना प्रमुख कुशलता न्यौपानेले सडक विस्तारका लागि आवश्यक पर्ने पूर्वतयारी भइरहेको बताउँदै सडक खन्ने काम भने माघबाट मात्रै सुरु हुने बताउनुभयो । उहाँले सडक विस्तारका क्रममा आवश्यक पर्ने निर्माण सामग्री ठाउँ ठाउँमा भण्डारण गर्ने, सडक क्षेत्राधिकारमा पर्ने संरचना हटाउने, कटान गर्ने रुखको अन्तिम गणना गर्ने र पुल बनाउने र अन्डरपास हुने स्थानको माटो परीक्षण गर्नेलगायतका काम भइरहेको जानकारी दिनुभयो । 

सडक नापजाँच, सर्भे गर्ने, विद्युत् पोल सार्ने र सडक किनारका संरचना खाली गराउने काम भइरहेको र सबै प्रक्रिया पूरा भइसकेको अवस्थामा मात्रै सडक खन्ने काम हुने आयोजनाको भनाइ छ ।  सडक विस्तारकै लागि सडक किनारमा रहेका करिब सात हजारभन्दा बढी रुख काट्न सडक विभागले स्वीकृति दिइसकेको छ । राजा महेन्द्रको पालामा विसं २०१९ सालमा बनेको बुटवल–गोरुसिङ्गे ५० किलोमिटर सडकखण्ड ६२ वर्षपछि विस्तारको काम हुन लागेको हो । 

बुटवल–नारायणगढ सडकमा जस्तो जनतालाई सास्ती नहोस् भन्ने उद्देश्यले बुटवल–गोरुसिङ्गे खण्ड विस्तार गर्दा अहिलेको पिच नभत्काईकन गर्ने पूर्वतयारी छ । आयोजना प्रमुख न्यौपानेले सडक विस्तार क्षेत्रभित्रका पालिकाले जनतालाई सास्ती नहोस् भन्ने उद्देश्यले पहिले दुवै छेउको सडक बनाएपछि मात्र बिचको पिच भत्काउन सुझाव आएकाले सोही अनुसार गर्ने बताउनुभयो ।  बुटवल गोरुसिङ्गे ५० किलोमिटर सडक विस्तारको क्रममा सात हजार रुख कटानका लागि अहिले रुख मार्किङ गर्ने काम सम्पन्न भइसकेको छ । सडक संरचनाभित्र परेका घरधनीले भने आफैँ घर भत्काएर क्षतिपूर्तिसमेत लिइसकेका छन् । 

चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ गु्रप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीले उक्त सडक विस्तारका लागि १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रुपियाँमा गत असार १३ गते ठेक्का लिएको हो । आयोजनाका अनुसार ५० किलोमिटर सडक दुई चरणमा २५÷२५ किलोमिटर गरी विस्तार गर्न लागिएको हो । यो सडकमा गाडी गुडाउन मिल्ने छ वटा अन्डरपास, पैदल यात्रुका लागि १२ वटा अन्डरपास र ११ वटा ओभरहेड ब्रिज, वन्यजन्तु वारपार गर्ने ठाउँमा १९ वटा अन्डरपास बनाइने आयोजनाको भनाइ छ । पहिलो चरणका लागि सात अर्ब ८९ करोड ४३ लाख र दोस्रो चरणका लागि पाँच अर्ब ६६ करोड २२ लाखमा ठेक्का लागेको हो ।