• १९ मंसिर २०८१, बुधबार

करारका कर्मचारीको भरमा करोडौँका योजना

blog

बैतडी समाचारदाता 

बैतडी, मङ्सिर १९ गते  । स्थानीय तहको पुनर्संरचना भएको सात वर्ष बितिसक्दा पनि दरबन्दी अनुसारका प्राविधिक र अन्य कर्मचारी नहुँदा करारका प्राविधिकका भरमा करोडौँ रुपियाँका योजना सम्पन्न गर्नुपर्ने बाध्यता सिर्जना भएको छ । बैतडी जिल्लाका चार नगरपालिका र छ वटा गाउँपालिकाले ठुलो लगानी गरेर चिल्लो भवन तयार गरे पनि कर्मचारी नहुँदा कामकाज गर्न ७७६ जना करारका कर्मचारी भर्ना गरेका छन् ।   

जिल्लाका १० वटा स्थानीय तहमध्ये सदरमुकामको दशरथ चन्द नगरपालिका र नयाँ सहर आयोजना स्थल रहेको पाटन नगरपालिकामा करारका समेत इन्जिनियर छैनन् । दरबन्दीका इन्जिनियर नहुँदा तीन करोड रुपियाँका योजना अलपत्र परेको पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहोराले बताउनुभयो । वडा कार्यालय चलाउनसमेत दरबन्दी अनुसारका सचिव नभएको उहाँले गुनासो गर्नुभयो । “करारका कर्मचारी र प्राविधिकका कारण योजना अलपत्र पर्ने गरेका छन्,” उपप्रमुख बोहोराले भन्नुभयो,

“नगरपालिकाको योजना शाखा नै प्रुमखविहीन बनेको छ । करारका कर्मचारी जिम्मेवार देखिएनन् । काम गराउनै मुस्किल हुन थालेको छ ।” २०५८ सालमा स्थापना भएको जिल्लाकै पुरानो दशरथ चन्द नगरपालिकामा हालसम्म दरबन्दीका इन्जिनियर पदस्थापन हुन सकेका छैनन् । दरबन्दीका इन्जिनियर नहुँदा सबइन्जिनियरले रातदिन काम गरेर योजना सम्पन्न गर्नुपर्ने बाध्यता रहेको प्रमुख प्रशासकीय अधिकृत नवीनचन्द्र पाण्डेयले बताउनुभयो ।

जनप्रतिनिधिले पनि कर्मचारी माग गर्न छाडेर मनलाग्दी आफू निकटका व्यक्तिलाई करारको कर्मचारीमा भर्ना गर्ने गरेको जिल्ला समन्वय समिति बैतडीका प्रमुख खगेन्द्रसिंह धामीले बताउनुभयो । उहाँले भन्नुभयो, “करारका प्राविधिक कर्मचारी जनप्रतिनिधिको प्रभावमा परेर गुणस्तरीय काम गर्न सकिरहेका छैनन् । जनप्रतिनिधि पनि सकेसम्म दरबन्दीका स्थायी कर्मचारी नआइदिए हुन्थ्यो भन्ने मनस्थितिमा रहेका छन् । यस्तो पाराले दिगो विकास कसरी सम्भव होला ? चिन्ताको विषय बनेको छ ।” 

सङ्घ र प्रदेश सरकारले रिक्त दरबन्दीको विवरण माग्दा अधिकांश स्थानीय तहले दरबन्दी नै लुकाउने गरेका छन् । यसअघि दशरथ चन्द नगरपालिकाले इन्जिनियरको दरबन्दी रिक्त भए पनि माग नगर्दा अहिलेसम्म दरबन्दी रिक्त रहेको छ । जिल्लाका १० वटा स्थानीय तहले करारमा मात्रै झन्डै आठ सय कर्मचारी भर्ना गरेका छन् ।