काठमाडौं, मङ्सिर १८ गते । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सुख्खा समयमा प्राधिकरणले विद्युत् माग पूरा गर्न नसक्ने अवस्था रहेको बताउनुभयो । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै कार्यकारी निर्देशक घिसिङले यस्तो बताउनुभएको हो । साथै उहाँले प्राधिकरणले २०० मेगावटका सोलार आयोजना अगाडि बढाएको जानकारी दिनुभयो ।
‘‘सुख्खा समयमा प्राधिकरणले विद्युत् माग पूरा गर्न सक्दैन । एक दुई वर्षभित्रै तर सोलारबाट हामीले ९६० मेगावटको एलओआई दिएका छौं । २०० मेगावाटका सोलार अगाडि बढाएको अवस्था छ । १२ सय मेगावटको सोलार उत्पादन हुँदा सुख्खा समयमा विद्युत् माग पूरा गर्न समस्या हुँदैन । भारतबाट दिउँसो मात्रै विद्युत् आयात गर्न अनुमति छ । बेलुकाको पिकिङ समयमा आयात गर्न दिँदैन । राति र दिउँसो मात्रै विद्युत् आयात गर्न सहमति भएको छ । जलविद्युतमा भारत, बङ्गलादेशसम्म खुला भएको अवस्थामा विद्युत प्राधिकरणले जोखिम लिएको छ । बजारको जोखिम लिएका छौं ।’’
यसैगरी, निर्देशक घिसिङले १० वर्षमा २८ हजार ५ सय मेगावट विद्युत् उत्पादनको लक्ष्य पूरा गर्न थप पीपीए खोल्न आवश्यक रहेको जिकिर गर्नुभयो । उहाँले प्राधिकरणले केही समयका लागि आरोआर र पिआरोआरका आयोजनाहरु पीपीएमा स्थगित भए पनि २८ हजार ५ सय मेगावटको लक्ष्य पूरा गर्न पीपीए फेरि खोल्नुपर्ने जानकारी दिनुभयो । उहाँले बजारलाई बन्द गरेर मात्रै नयाँ आयोजनाहरु आउनसक्ने बताउनुभयो ।
निर्देशकले प्राधिकरणले केही जोखिम लिन नसके अन्य थप आयोजनाहरु आउन नसक्ने जिकिर गर्नुभयो । उहाँले १२ हजार मेगावटको पीपीए सम्झौतामा हस्ताक्षर गरे पनि १२ हजारकै आयोजनाहरु आउन नसक्ने बताउनुभयो । उहाँले ६० देखि ७० प्रतिशत पीपीए गरेका आयोजनाहरु आए भने त्यसले सरकारलाई ठुलो सहयोग पुग्ने औंल्याउनुभयो ।
‘‘प्राधिकरणले केही समयका लागि आरोआर र पिआरोआरको प्रोजेक्टहरुको पीपीएमा केही स्थगन गरेको अवस्था हो । कोटा पूरा गरेर बसेका छौं । २८ हजार ५ सय मेगावाटको लक्ष्य खुला भएपछि पीपीएमा फेरि पनि खोल्नुपर्नेछ । हामी अगाडि बढाउँछौं । बजारलाई बन्द गरेर बसेर आयोजनाहरु आउँदैन भन्ने अवस्था हेर्नुपर्छ । प्राधिकरणले केही जोखिम लिएन भने आयोजनाहरु आउँदैनन् । १२ हजार मेगावटको पीपीए सम्झौतामा हस्ताक्षर गरे पनि १२ हजार नै आउँछ भन्ने छैन ।,’’ उहाँले भन्नुभयो, ‘‘धेरै आयोजनाहरुको प्राविधिक समस्याहरु आउँछन् । ६० देखि ७० प्रतिशत पीपीए गरेका आयोजनाहरु आए भने पनि त्यसले ठुलो सहयोग गर्छ ।’’
कार्यकारी निर्देशक घिसिङले २८ हजार मेगावटको पीपीएमा वैदेशिक लगानी, प्राधिकरणले गर्ने, रिजर्भर आयोजनाहरु र सोलार पनि समावेश गरिएको बताउनुभयो । उहाँले सोलार उत्पादनका लागि प्राधिकरणले करिव ८ सय मेगावाटको माग गर्दा ३६ सय मेगावाटको प्रस्ताव आएको बताउनुभयो । उहाँले विद्युत प्राधिकरणले सोलारलाई जलविद्युतलाई प्राथमिकता दिनुपर्ने अवस्था रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘२८ हजार मेगावटको पीपीएमा वैदेशिक लगानी, प्राधिकरणले गर्ने, रिजर्भवर आयोजनाहरु र सोलार पनि त्यसैभित्र राखेका छौं । प्राधिकरणले करिब ८ सय मेगावाटको माग गर्दा ३६ सय मेगावाटको प्रस्ताव आएको छ । विद्युत प्राधिकरणले सोलारलाई जलविद्युतलाई प्राथमिकता दिने गरेको थिएन तर अहिले प्राथमिकता दिनुपर्ने अवस्था छ ।’’
निर्देशक घिसिङले जलविद्युत् क्षेत्रका समस्या समाधान गर्नेगरी नीतिहरुलाई सहजीकरण गर्ने तयारीमा प्राधिकरण लागेको बताउनुभयो । उहाँले निजी क्षेत्र वा लगानीकर्तालाई मात्रै जोखिममा पार्ने नभई सरकारले पनि जोखिम बहन गर्नेगरी नीतिहरु परिमार्जन गर्न लागिएको जानकारी दिनुभयो । उहाँले नेपालको जलविद्युत् क्षेत्रको विकासलाई विस्तार गर्नका लागि सरकार अगाडि बढ्नुपर्ने बताउनुभयो । नेपालमा २८ हजार मेगावाटको पीपीए भयो भने आरोरा र पीआरोआर आयोजना ३० हजारभन्दा बढी आउने नदेखिएको बताउनुभयो ।