• १९ मंसिर २०८१, बुधबार

विषादीको दोहोरो जोखिममा किसान

blog

सहभागीहरूलाई विषादीका बारेमा जानकारी गराउनुहुँदै कृषि विकास निर्देशनालय लुम्बिनीका महानिर्देशक यामनारायण देवकोटा । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, मङ्सिर १८ गते । बालीनालीमा शत्रुजीव व्यवस्थापन गर्न प्रयोग गरिने विषादीहरूको अत्यधिक प्रयोग र दुरुपयोगबाट सबैभन्दा बढी जोखिममा किसान (प्रयोगकर्ता) हुने बताइएको छ ।

लुम्बिनी प्रदेश सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालयले लुम्बिनी प्रदेशभर सञ्चालन गर्न लागेको ‘विषादी सचेतना अभियान २०८१’को बाँकेबाट शुभारम्भ गर्ने क्रममा उक्त कुरा बताइएको हो ।

कार्यक्रमको औपचारिक शुभारम्भ गर्दै कृषि विकास निर्देशनालय लुम्बिनीका महानिर्देशक यामनारायण देवकोटाले पछिल्लो समयमा जानेर वा नजानेर बालीनालीमा किसानहरुले अत्यधिक रासायनिक विषादीको प्रयोग गर्ने गरेको भन्दै विषादीको विषाक्तबाट सबैभन्दा बढी जोखिममा प्रत्यक्ष रूपमा किसान हुने गरेको बताउनुभएको हो ।

“बालीनालीमा प्रयोग गरिने रासायनिक विषादीबाट प्रत्यक्ष रूपमा धेरैजसो किसान नै हुने गरेका छन्, उनीहरू दोहोरो जोखिममा रहने गरेका छन्, बालीनाली उत्पादन गर्दा बिना तयारी रासायनिक विषादी प्रयोग गर्ने र उत्पादन भएको वस्तु उपभोग गर्ने पनि किसान हुने हुँदा उनीहरू दोहोरो जोखिममा देखिएका छन्,” महानिर्देशक देवकोटाले भन्नुभयो, “रासायनिक विषादीको अत्यधिक प्रयोग र दुरुपयोगबाट किसान तथा उपभोक्तालाई सचेतना गराई यसबाट हुने जोखिमलाई न्यूनीकरण गर्नका लागि प्रदेश सरकारले विषादी सचेतना अभियान सुरु गरेको छ ।”

देवकोटाका अनुसार “सबैको चाहना, विषादीयुक्त खाना” भन्ने मूल नाराका साथ पहिलो पटक कृषि मन्त्रालयको वार्षिक स्वीकृत कार्यक्रम अनुसार प्रदेशका १२ वटै जिल्लामा यस प्रकारको सचेतना अभियान सञ्चालन गर्न लागिएको हो । बाँकेबाट यो कार्यक्रमको औपचारिक रूपमा सुरुआत गरिएको र हरेक जिल्लामा सम्बन्धित सरोकारवाला कार्यालयबाट वर्षैभर यो कार्यक्रम सञ्चालन गरिने उहाँको भनाइ छ ।

“बढ्दो रासायनिक विषादीको प्रयोग, यसबाट मानव स्वास्थ्यमा हुने गम्भीर जोखिमलाई न्यूनीकरण गर्दै रासायनिक विषादीको विकल्पसहितको सचेतना कार्यक्रम सुरु गरेका छौँ, हरेक सरोकारवालासँग भेटघाट, छलफल, विद्यालयका विद्यार्थीमार्फत सचेतना कार्यक्रम लगायत गरेर व्यापक रूपमा जनचेतना फैलाउने अभियान सुरु गरेका छौँ ।” देवकोटाले भन्नुभयो, “कसैले जानेर त कसैले अन्जानमा विषादीको प्रयोग गरिरहेका छन्, सुरक्षित विषादीको प्रयोग कसरी गर्ने र यसको जोखिमबाट कसरी बच्ने भन्ने विषयमा यो कार्यक्रम महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ ।”

कृषि विकास निर्देशनालय लुम्बिनीका वरिष्ठ बाली संरक्षण अधिकृत मिलन गैरेले लुम्बिनी प्रदेशमा जीवनाशक विषादीको प्रयोग र विषादी सचेतना अभियान विषयका बारेमा सहजीकरण गर्नुभएको थियो । उहाँले तथ्याङ्क अनुसार हरेक वर्ष विषादीको आयात बढेको र अत्यधिक प्रयोग पनि हुने गरेको पाइएको बताउनुभयो ।

“तथ्याङ्क अनुसार हरेक वर्ष रासायनिक विषादीको आयात बढ्दो छ, प्रयोग पनि अत्यधिक रूपमा हुने गरेको छ, सबैभन्दा बढी तरकारीजन्य वस्तुमा यसको प्रयोग हुने गरेको छ ।” अधिकृत गैरले भन्नुभयो, “पहाडी भन्दा तराईका जिल्लामा विषादीको प्रयोग बढी हुने गरेको छ, हिमालमा ८५ ग्राम खास विष प्रतिहेक्टर, पहाडमा ३१५ ग्राम खास विष प्रतिहेक्टर, तराईमा ९९५ ग्राम खास विष प्रतिहेक्टर र उपत्यकामा ४७० ग्राम खास विष प्रतिहेक्टरका रूपमा रासायनिक विषादी प्रयोग हुने गरेको प्लाण्ट क्वारेनटाइन तथा विषादी व्यवस्थापन केन्द्रको तथ्याङ्कले देखाएको छ ।”

विषादीको सुरक्षित प्रयोग सम्बन्धी ज्ञान नहुनु, जानकार किसान पनि लापरबाही हुनु, वैकल्पिक विधिका बारेमा ज्ञान नहुनु, भारतीय विषादी र बीउबिजनको बढी विश्वास गर्नु, सबै विषादीलाई कक्टेलका रूपमा प्रयोग गर्नु, पर्खनुपर्ने अवधिबारे प्रायः किसानलाई जानकारी नहुनु, रासायनिक विषादीको विकल्प सहज रूपमा उपलब्ध नहुनु लगायतका कारणबाट प्रयोगकर्ता विषाक्त हुँदै गएको उहाँको भनाइ छ ।

विषादीको बढ्दो अनुचित प्रयोग कम गराउने, कृषि उपज उत्पादकहरूलाई विषादीको नकारात्मक असरबारे जानकारी गराउने र सुरक्षित राख्ने, तरकारी तथा फलफूल उपभोक्ताहरूको सुरक्षा गर्ने, किसानहरूको अनावश्यक आर्थिक नोक्सानी हुन नदिने, विषादी प्रयोगकर्तालाई सबैको स्वास्थ्यप्रति संवेदनशील हुन सचेत गराउने, सुरक्षित विषादीको प्रयोग सम्बन्धी जनचेतना फैलाई स्वस्थ बाली उत्पादन गर्ने सन्देश प्रवाह गर्ने लगायतका कार्यक्रमको उद्देश्य रहेको देवकोटाले बताउनुभयो ।

कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्र खजुराका निमित्त प्रमुख श्रीधर ज्ञवालीले रासायनिक विषादीलाई नियन्त्रण गर्नका लागि किसानलाई तालिम दिँदा रासायनिक विषादीको कम प्रयोग र मानव शरीरलाई असर नपुग्ने गरी चेतना जगाउने किसिमको तालिम सञ्चालन गरिरहेको जानकारी दिनुभयो । हरेक किसान र उपभोक्ताको पहुँचमा पुगेर यस सम्बन्धी जनचेतना प्रदान गरी उनीहरूलाई सचेत बनाउनुपर्ने उहाँले बताउनुभयो ।

बाली संरक्षण प्रयोगशाला, कृषि व्यवसाय प्रवर्धन सहयोग तथा तालिम केन्द्र, बिउँ बिजन प्रयोगशाला, मल तथा माटो परीक्षण प्रयोगशाला र कृषि ज्ञान केन्द्र बाँकेको संयुक्त आयोजनामा विषादी सचेतना अभियानको शुभारम्भ कार्यक्रम गरिएको थियो ।