• १७ मंसिर २०८१, सोमबार

प्रविधिको प्रयोगले कृषिमा सुधार हुनेछ : मन्त्री अधिकारी

blog

कृषि तथा पशपन्छी विकासमन्त्री रामनाथ अधिकारी

काठमाडौँ, मङ्सिर १७ गते । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले विश्व प्रविधिको युगमा प्रवेश गरेसँगै बीउबिजनको क्षेत्रलाई पनि प्रविधिमा आधारित बनाउँदै लैजानुपर्नेमा जोड दिनुभएको छ ।

बीउसम्बन्धी निर्माण गरिएको सफ्टवेयर  देसिस–२ को  आज यहाँ शुभारम्भ गर्दै मन्त्री अधिकारीले कृषिलाई सूचना प्रविधिसँग जोड्न जरुरी रहेको बताउनुभयो । यसो भयो भने मात्र कृषि क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हुने उहाँले बताउनुभयो । बीउबिजनको वितरणलाई डिजिटलाइजेसन प्रणालीमा लैजाने कार्यले समग्र कृषि क्षेत्रमा सुधार देखिने उहाँको भनाइ थियो ।

“सरकारले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन गरिरहँदा यसको तुलनात्मक लाभ कृषि क्षेत्रले समेत लिनुपर्छ”, मन्त्री अधिकारीले भन्नुभयो  । कृषि, पर्यटन, ऊर्जा र बृहत्तर पूर्वाधार निर्माण नेपालको विकासका लागि अपरिहार्य रहेको उल्लेख गर्दै उहाँले कृषिलाई प्रविधिमा आधारित बनाइरहँदा डिजिटल साक्षरता पनि आवश्यक रहेको बताउनुभयो ।

मन्त्री अधिकारीले सफ्टवेयरमार्फत गुणस्तरीय बीउबिजनमा किसानको सहज पहुँच हुने विश्वास व्यक्त गर्नुभयो । विभिन्न दातृसंस्थाको सहयोगमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रमार्फत यो सफ्टवेयर निर्माण गरिएको  हो  । यसमार्फत तीनै तहका सरकारबिच बीउबिजन वितरणलाई डिजिटलाइजेसन गरी गुणस्तरीय बीउमा किसानको पहुँच कायम हुने केन्द्रका प्रमुख बेनुप्रसाद प्रसाईँले बताउनुभयो । रासस