• ९ पुस २०८२, बुधबार

दस महिनादेखि बन्द खेलकुद विकास समिति सुचारु

blog

कार्यालयको अवलोकन तथा निरीक्षण गर्दै लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेय । तस्बिर : पुरुषोत्तम सुबेदी

पुरुषोत्तम सुबेदी
पश्चिम नवलपरासी, पुस ९ गते ।
लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेयले जिल्ला खेलकुद विकास समिति पश्चिम नवलपरासीको कार्यालयको अवलोकन तथा निरीक्षण गर्नुभएको छ । विगत १० महिनादेखि कार्यालय बन्द हुँदा जिल्लाको खेलकुद गतिविधि सुस्ताएको अवस्थालाई मध्यनजर गर्दै मन्त्री पाण्डेयले मङ्गलबार कार्यालयको वस्तुस्थिति बुझ्नुभएको जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष रितमान कामुमगरले जानकारी दिनुभयो  ।

कार्यालय प्रमुख र पदाधिकारीसँग छलफल
निरीक्षणका क्रममा मन्त्री पाण्डेयले समिति कार्यालयका प्रमुख तथा निवर्तमान पदाधिकारीहरूसँग छलफल गर्नुभयो । छलफलका क्रममा उहाँले कार्यालय लामो समयसम्म बन्द हुनुको कारण र यसले खेलाडीहरूमा पारेको असरबारे जानकारी लिनुभयो । कर्मचारी व्यवस्थापन र प्रशासनिक अन्यौलका कारण सेवा प्रवाहमा परेको बाधालाई तत्काल हटाउन उहाँले निर्देशन दिनुभयो ।

मन्त्री पाण्डेयको प्रतिबद्धता
मन्त्री पाण्डेयले कार्यालयलाई छिटोभन्दा छिटो पूर्ण रूपमा सञ्चालनमा ल्याउन आवश्यक सबै व्यवस्थापन मिलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “युवा र खेलाडीहरूको प्रत्यक्ष सरोकार राख्ने निकाय यसरी बन्द रहनु हुँदैन । हामी सबै बाधा फुकाएर कार्यालयलाई चुस्त बनाउनेछौँ ताकि खेलाडीहरूले सहजै सेवा पाउन सकून् ।’’

खेलाडीहरूका लागि सहज पहुँच
कार्यालय पुनः सञ्चालनमा आउने भपछिसँगै पश्चिम नवलपरासीका युवा र खेलाडीहरूका लागि प्रशासनिक काम, प्रशिक्षण र प्रतियोगिता व्यवस्थापनमा सहज हुने विश्वास लिइएको छ । मन्त्री पाण्डेयले कार्यालयको भौतिक पूर्वाधार र व्यवस्थापनलाई सुदृढ बनाउँदै खेलकुद विकासलाई प्राथमिकतामा राख्ने आश्वासन समेत दिनुभएको छ । हाल लुम्बिनी प्रदेशका १२ जिल्लामा खेलकुद विकास समितिका पदाधिकारीहरू रिक्त छन् ।