• २४ मंसिर २०८१, सोमबार

रेलयात्रा गर्ने अपाङ्गता भएकालाई विशेष व्यवस्था गर्न माग

blog

अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलन । तस्बिर : धर्बेन्द्र झा

धर्बेन्द्र झा 

जनकपुरधाम, मङ्सिर १५ गते । अपाङ्ग समाज जनकपुरधामले नेपाल रेल्वेमा यात्रा गर्ने अपाङ्गता भएका व्यक्तिहरूका लागि छुट्टै विशेष व्यवस्था गर्न माग गरेको छ । मधेश प्रदेशको राजधानी जनकपुरधाममा मङ्सिर १८ गते मनाउन लागिएको अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको बारेमा जानकारी दिन शनिबार आयोजना गरिएको पत्रकार सम्मेलनमा अपाङ्ग समाज जनकपुरधामका अध्यक्ष शत्रुधनलाल कर्णले नेपाल रेल्वेमा दैनिक यात्रा गर्ने अपाङ्गता भएका व्यक्तिलाई रेलको बोगीमा चढ्न समस्या भएको बताउनुभयो । 

सिट नपाएपछि यात्रा गर्नमा धेरै समस्या हुने गरेको भन्दै केही सिट अपाङ्गता भएकाहरूका लागि सुरक्षित गर्न माग गर्नुभयो । उहाँले हिन्दुहरूको आस्थाको केन्द्र रहेको जानकी मन्दिरसहित मधेश प्रदेशको कुनै पनि सरकारी कार्यालय अपाङ्गमैत्री नभएको भन्दै प्रदेश सरकारले नयाँ निर्माण गर्ने पूर्वाधारलाई अपाङ्गमैत्री बनाउनु पर्नेमा जोड दिनुभयो । 

नेपाल सरकारको २०७८ सालको जनगणना अनुसार मधेश प्रदेशमा ९१ हजार ७०३ जना अपाङ्गता भएका व्यक्तिहरू रहे पनि प्रदेश सरकारले उनीहरूको लागि कुनै ठोस नीति निर्माण गर्न नसकेको आरोप लगाउनुभयो । 

अपाङ्ग समाज जनकपुरधामका सल्लाहकार किरण पासवानले संसारको कुल जनसङ्ख्याको १५ प्रतिशत व्यक्ति कुनै न कुनै रूपमा अपाङ्गताको अवस्थामा जीवन जिउन बाध्य रहेको बताउनुभयो । 

अपाङ्ग समाज जनकपुरधामका सचिव उपेन्द्र राउतले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत मङ्सिर १९ गते जनकपुरधाममा राष्ट्रिय अपाङ्ग पुनर्स्थापना केन्द्रको आयोजन र अपाङ्ग समाज जनकपुरधामको समन्वयमा मधेश प्रदेशभरीका मधेशी अपाङ्ग महिलाको सम्मेलन गर्न लागिएको जानकारी गराउनुभयो ।