अविनाश चौधरी
धनगढी, मङ्सिर १५ गते । एचआइभी एड्स सङ्क्रमण दर धेरै घटे पनि सुदूरपश्चिम प्रदेशमा अझै अनुमानित चार हजार २६५ जना एड्स सङ्क्रमित रहेका छन् । गत आर्थिक वर्ष २०८०–८१ सम्म सो सङ्ख्यामा एड्स सङ्क्रमित रहेको अनुमान गरेको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको हो । अनुमानित सङ्क्रमितमध्ये चार हजार नौ जना पत्ता लागेको आज पत्रकार सम्मेलन गरी जनाइएको छ ।
पत्ता लागेका सङ्क्रमितमध्ये तीन हजार ७२३ जना उपचाररत छन् । उपचार गराइ रहेकामध्ये एक हजार ९२० जनामा रोग सार्ने भाइरल लोड कम भएको निर्देशनालयका एचआइभी स्रोत व्यक्ति मनोज ओझाले बताउनुभयो ।
उहाँका अनुसार गत आर्थिक वर्षमा पुरुष १२९, महिला ८५ र यौन अल्पसङ्ख्यक चार गरी २१८ नयाँ सङ्क्रमित पत्ता लागेका छन् । नयाँ पत्ता लागेकामध्ये २१४ जना उपचारमा दर्ता भएको जनाइएको छ । नयाँ पत्ता लागेको सङ्ख्या अघिल्लो आर्थिक वर्षकोभन्दा कम रहेको निर्देशनालयले जानकारी दिएको छ । गत आर्थिक वर्षमा सुदूरपश्चिमका ६४ सङ्क्रमितले एड्सका कारण ज्यान गुमाएका छन् ।
निर्देशनालयका अनुसार बाजुराका ६२, बझाङका ९१, दार्चुलाका ४५, बैतडीका १२८, डडेलधुराका ११५, डोटीका ४९३ सङ्क्रमितले हाल उपचार गराइरहेका छन् । यसैगरी, अछामका ५८४, कैलालीका एक हजार ७४५ र कञ्चनपुरका ४६० जना सङ्क्रमित एआरटी उपचार गराइरहेका छन् । यो प्रदेशमा १७ स्थानबाट एआरटी उपचार सेवा उपलब्ध रहेको छ ।
यस प्रदेशमा पछिल्लो दुई तीन वर्षयता नयाँ एचआइभी सङ्क्रमित थपिने सङ्ख्यास्थिर रहेको निर्देशनालयले जानकारी दिएको छ । फेला परेका सङ्क्रमितलाई नियमित उपचारमा ल्याएका र एआरटी सेवाका कारण सङ्क्रमण दर घटेको ओझाले बताउनुभयो । अहिले एआरटी औषधी धेरै राम्रो आएको उल्लेख गर्दै नियमित एआरटी खाएमा सङ्क्रमितबाट एचआइभी सर्ने दर (भाइरल लोड) ९० प्रतिशत कम हुने गरेको बताइएको छ ।
दिगो विकास लक्ष्यअनुसार नेपालमा सन् २०३० सम्म एचआइभी सङ्क्रमणको महामारी दर शून्यमा झार्ने लक्ष्य लिइएको छ । यो लक्ष्य महत्वकांक्षीजस्तो लागे पनि असम्भव नरहेको स्वास्थ्य निर्देशक खगेन्द्र बमले बताउनुभयो । सबैको सहयोगमा लक्ष्यलाई पूरा गर्न सकिने उहाँको भनाइ थियो ।
स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख गौरी जोशीले एड्स पनि मधुमेहजस्तै सामान्य रोग रहेको बताउनुभयो । नियमित उपचार गराउने सङ्क्रमितहरू सामान्य जीवन बाँच्ने गरेको उहाँले उल्लेख गर्नुभयो ।