• २४ पुस २०८१, बुधबार

चल्न थाले चिनी उद्योग

blog

सर्लाही समाचारदाता

सर्लाही, मङ्सिर १५ गते । चिनी मिलले धमाधम किसानसँग उखु लिएर क्रसिङ सुरु गरेका हुन् । सर्लाहीका तीन वटा चिनी उद्योगमध्ये अन्नपूर्ण चिनी उद्योग धनकौल र महालक्ष्मी चिनी उद्योग बगदह सञ्चालनमा आइसकेका छन् । 

अन्नपूर्ण चिनी उद्योग चार दिनअघिदेखि सञ्चालनमा आएको धनकौल गाउँपालिका–२ का रामकल्याण यादवले जानकारी दिनुभयो । उद्योगले बलरा, रामनगरलगायत सीमावर्ती क्षेत्रका किसानबाट उखु खरिद गरेर क्रसिङ सुरु गरेको हो । सीमावर्ती क्षेत्रबाट उद्योगले उखु ल्याएर धमाधम क्रसिङ गरिरहे पनि आफूहरूले उद्योगबाट पुरानो बक्यौता भने नपाएकाले तत्काल उखु नदिने यादवले बताउनुभयो । यो वर्ष उखुको मूल्य तोक्न बाँकी नै रहेकाले उद्योगले तत्काल किसानलाई प्रतिक्विन्टल ५६५ रुपियाँका दरले भुक्तानी दिने सहमतिमा किसानबाट उखु लिइरहेको छ । 

दक्षिणवर्ती भेगस्थित महालक्ष्मी चिनी उद्योग बगदहले पनि बिहीबारबाट उखु क्रसिङ सुरु गरेको छ । बिहीबार दिउँसो २ बजेबाट उखु पेल्न सुरु गरिएको महालक्ष्मी चिनी उद्योगका उखु प्रबन्धक पवनसिंह यादवले जानकारी दिनुभयो । 

महालक्ष्मीले किसानलाई अघिल्लो वर्षको दुई करोड रुपियाँ भुक्तानी दिन बाँकी रहेको किसानले बताएका छन् । उद्योगले १० दिनभित्र पुरानो बक्यौता र नयाँ उखुको भुक्तानी दिने सहमति भएको उखु किसानसमेत रहेका गोडैता नगरपालिकाका प्रमुख देवेन्द्र यादवले जानकारी दिनुभयो । यस्तै हरिवनमा रहेको इन्दुशङ्कर चिनी उद्योग भने दुई सातापछि मात्रै सञ्चालन हुने भएको छ । इन्दुशङ्करका उखु प्रबन्धक योगनारायण रजकले मङ्सिर २७ देखि उद्योग चालु गर्ने तयारी भइरहेको बताउनुभयो । 

इन्दुशङ्करले किसानलाई अघिल्ला वर्षको सम्पूर्ण भुक्तानी गरिसकेको छ । तराई मधेशका चिनी उद्योग धमाधम सञ्चालनमा आए पनि सरकारले उखुको मूल्य तोक्न बाँकी नै रहेको छ । 

नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले बर्सेनि जसो सरकारले उद्योगीको इसारामा उखुको मूल्य तोक्ने प्रयास गरिरहेको आरोप लगाउनुभयो । दुई दिनअघि उखुको मूल्यका विषयमा छलफल गर्न भनी काठमाडौँ बोलाइए पनि केही घण्टा मात्रै समय दिएर बोलाइएकाले आफूहरू सहभागी हुन नसकेको मैनालीको भनाइ छ ।