गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर १५ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले इजरायली राजदूतसँग केयरगिभरमा छनोट भएका नेपाली श्रमिकलाई छिटो पठाउने व्यवस्था गर्न आग्रह गर्नुभएको छ । श्रममन्त्री भण्डारीले नेपालका लागि इजरायली राजदूत ‘स्मुलिक एरी वास’ सँगको भेटमा सहायक श्रमिकका रूपमा (केयरगिभर) इजरायल जान दोस्रो चरणमा छनोट भएका नेपाली श्रमिकलाई छिटो पठाउने व्यवस्था गर्न आग्रह गर्नुभएको हो ।
इजरायलका राजदूत वासले नेपाली श्रमिक केयरगिभरको क्षेत्रमा उत्कृष्ट रहँदै आएको र हाल इजरायलमा युद्धविरामसमेत घोषणा भइसकेकाले छनोट भएका नेपाली श्रमिक क्रमशः लैजाने जानकारी दिनुभयो । राजदूतवासले अघिल्लो पटक केयरगिभरमा गएका नेपाली श्रमिक केयरगिभरको क्षेत्रमा उत्कृष्ट भएकाले दोस्रो चरणमा छनोट भएका सबै लैजाने आश्वासन दिनुभयो ।
गत असोजमै इजरायलमा केयरगिभरका लागि जान छनोट भएका श्रमिकको नाम सार्वजनिक गरे पनि इजरायल र लेबनानबिचको युद्ध लम्बिएपछि ढिला भएको हो । दोस्रो चरणमा इजरायलको केयरगिभरका लागि लैजाने दुई हजार ११२ जनाको नाम सार्वजनिक गरिएको छ । इजरायल सरकारले रोजगारीका लागि आवेदन दिएकामध्येबाट गोलाप्रथा (लट्री) मार्फत सो सङ्ख्याका श्रमिक छनोट गरेको हो ।
गोलाप्रथामा छनोट भएका ८८ जनाको प्रमाणपत्र नै नक्कली भटिएपछि विभागले नक्कलीको नाम हटाएको थियो । नेपाल र इजरायलबिच भएको श्रम सम्झौता अनुसार सरकारी संयन्त्रमार्फत दीर्घकालीन स्याहार केन्द्रमा नेपाली श्रमिक पठाइँदै आएको छ । यसमा निजी क्षेत्रको संलग्नता छैन ।
श्रममन्त्री र राजदूतबिच भएको भेटमा नेपाल र इजरायलबिच भएको द्विपक्षीय श्रम सम्झौताको कार्यान्वयन गर्ने, श्रमिकको स्रोत देशका रूपमा नेपाललाई इजरायलले सूचीकृत गर्ने, कृषि निर्माणलगायत अन्य क्षेत्रमा समेत नेपाली श्रमिक पठाउनका लागि पहल गर्नेलगायतका विषयमा छलफल भएको जनाइएको छ ।
यस्तै कृषि प्रविधि हस्तान्तरण गर्ने, सिप विकास, भाषा तालिम, स्वास्थ्य परीक्षण, श्रमिकको हक अधिकार संरक्षण र सुरक्षालगायतका विषयमा दुवै देशबिच थप कूटनीतिक पहल गर्ने विषयमा छलफल भएको जनाइएको छ ।