• १८ मंसिर २०८१, मङ्गलबार

बुटवल गोरुसिङ्गे सडक विस्तार पूर्व तयारीको काम तीब्र

blog

बुटवल गोरूसिङ्गे सडक खण्डको रामापुर क्षेत्रको भाग । तस्बिर : छविलाल पाण्डे

छविलाल पाण्डे 

बुटवल, मङ्सिर १४ गते । बुटवल गोरुसिङ्गे सडक विस्तारका लागि निर्माण व्यवसायीले सडक क्षेत्रमा पूर्व तयारीको काम सुरु गरेपनि सडक खन्ने काम भने अझै दुई महिना ढिलोगरी हुने भएको छ । 

बुटवल गोरुसिङ्गे सडक आयोजना कार्यालय बुटवलले निर्माण व्यवसायीले सडक विस्तार गर्नुअघिको पूर्व तयारीको काम जस्तै सर्वे, माटो परिक्षण, रुख कटानको तयारी लगायतका काम गरिरहेको जनाएको छ ।

आयोजना प्रमुख कुशलता न्यौपानेले सडक विस्तारका लागि आवश्यक पर्ने पूर्व तयारीको काम भैरहेको बताउँदै सडक खन्ने काम भने माघबाट मात्रै सुरु हुने बताउनुभयो ।   उहाँले सडक विस्तारका क्रममा आवश्यक पर्ने निर्माण सामाग्रीहरु ठाउँ–ठाउँमा भण्डारण गर्ने, सडक क्षेत्राधिकारमा पर्ने संरचनाहरु हटाउने, कटान गर्ने रुखको अन्तिम गणना गर्ने र पुल बनाउने र अण्डरपास हुने स्थानको पुनः माटो परीक्षण गर्ने लगायतका काम भइरहेको जानकारी दिनुभयो । 

सडक नापजाँच, सर्भे गर्ने, विद्युत पोल सार्ने र सडक किनारका संरचना खाली गराउने काम भैरहेको र सवै प्रकृया पुरा भैसकेको अवस्थामा मात्रै सडक खन्ने काम हुने आयोजनाको भनाइ छ । 

सडक विस्तारकै लागि सडक किनारमा रहेका करिव सात हजार बढी रूख काट्न सडक विभागले स्वीकृति दिईसकेको छ । राजा महेन्द्रको पालामा बि.सं. २०१९ सालमा बनेको बुटवल गोरूसिंगे ५० किलोमिटर सडक खण्ड ६२ बर्षपछि विस्तारको काम हुन लागेको हो । बुटवल नारायणगढ सडकमा जस्तो जनतालाई सास्ती नहोस भन्ने उद्देश्यले बुटवल गोरुसिङ्गे खण्ड विस्तार गर्दा अहिलेको पिच नभत्काईकन गर्ने पूर्व तयारी छ । 

आयोजना प्रमुख न्यौपानेले सडक विस्तार क्षेत्रभित्रका पालिकाहरुले जनतालाई सास्ती नहोस् भन्ने उद्देश्यले पहिले दुवै छेउको सडक बनाएपछिमात्र बिचको पिच भत्काउन सुझाव आएकोले सोही अनुसार गर्ने बताउनुभयो । 

बुटवल गोरुसिंगे ५० किलोमिटर सडक विस्तारको क्रममा सात हजार रुख कटानका लागि अहिले रुख मार्किङ गर्ने काम सम्पन्न भैसकेको छ । सडक संरचनाभित्र परेका घर धनीले भने आफै घर भत्काएर क्षतिपूर्ति समेत लिईसकेका छन् । 

चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ गु्रप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीले उक्त सडक विस्तारका लागि १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रुपियाँमा गत असार १३ गते ठेक्का लिएको हो ।

आयोजनाका अनुसार ५० किलोमिटर सडक दुई चरणमा २५-२५ किलोमिटर गरि विस्तार गर्न लागिएको हो । यो सडकमा गाडी गुडाउन मिल्ने ६ वटा अण्डरपास, पैदल यात्रुका लागि १२ वटा अण्डर पास र ११ वटा ओभरहेड ब्रिज, वन्यजन्तु वारपार गर्ने ठाउँमा १९ वटा अण्डर पास बनाइने आयोजनाको भनाइ छ । 

पहिलो चरणका लागि ७ अर्ब ८९ करोड ४३ लाख र दोस्रो चरणका लागि ५ अर्ब ६६ करोड २२ लाखमा ठेक्का लागेको हो । पहिलो चरणमा सडक विस्तारसँगै ३० वटा पुल निर्माण हुनेछ भने १४९ वटा कल्भर्ट पनि निर्माण हुनेछ । आयोजनाका अनुसार सडक विस्तारको काम सहरी क्षेत्रमा ५० मिटर, सहरोन्मुख क्षेत्रमा ३७ दशमलब ४ मिटर र जंगल क्षेत्रमा २४ मिटर चौडाई कायम हुनेछ । 

यस्तै, ठेक्का सम्झौता भएको मितिले तीन वर्षभित्र निर्माण सक्ने सम्झौता छ ।