• १८ मंसिर २०८१, मङ्गलबार

प्रगतिनगरमा खानेपानी समस्या अब नहुने

blog

बोमलाल गिरी

नवलपुर, मङ्सिर १४ गते ।  नवलपुरको देवचुली नगरपालिका प्रगतिनगरमा अव वर्षाको समयमा पनि खानेपानीको समस्या नहुने भएको छ । बोरिङ नहुँदा वर्षाको समयमा अनियमित र धमिलो पानीको समस्या भोगिरहेका यहाँका उपभोक्ता अब यो समस्याबाट मुक्त हुने भएका हुन् । 

प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले देवचुली नगरपालिका –७ मा बोरिङ निर्माण गरेपछि वर्षामा हुने खानेपानीको समस्या समाधान हुने बताइएको छ ।  सिताबासमा प्रदेश सरकार उर्जा तथा जलस्रोत मन्त्रालयको २० लाख लागतमा बोरिङ निर्माण गरेको संस्थाका अध्यक्ष खिमानन्द भुसालले जानकारी दिनुभयो । 

अध्यक्ष भुसालका अनुसार यहाँ प्रतिसेकेण्ड २० लिटर पानी प्रवाह हुनेगरी बोरिङ निर्माण गरिएको छ । बर्षाको समयमा देउसत खोलामा आउने बाढीले गर्दा पानीको आपूर्ति बेलाबेलामा अनियमितता हुने र पानी धमिलो पनि हुनेभए पनि अबदेखि त्यो समस्या हट्ने अध्यक्ष भुसालले बताउनुभयो । 

देउसत खोलामा बाढी आउँदा उक्त पानी सोझै फिल्टर प्लान्टमा जोड्न नमिल्ने हुँदा बर्षाको बेला कहिलेकाहीं प्रगतिनगरमा पिउने पानीको समस्या हुँदैआएको थियो ।  प्रगतिनगर खानेपानीले यहाँ ५४ सय घरधुरीमा धारा जडान गरी ३० हजार उपभोक्तालाई शुद्ध पिउने पानी उपलब्ध गराउँदै आएको छ । 

अब उक्त बोरिङबाट ढिलोमा १५ दिनमा पानी आपूर्ति गर्न मिल्ने अध्यक्ष भुसालले बताउनुभयो । प्रगतिनगर खानेपानीले अहिले देउसत खोलाको मुहानको पानीका साथै प्रगतिनगरका विभिन्न स्थानका ५ वटा बोरिङमार्फत पिउने पानी उपलब्ध गराउँदै आएको छ । २०७८ सालमा प्रगतिनगर खानेपानी उपभोक्ता संख्यालाई नेपाल सरकारले देशभरकै उत्कृष्ट खानेपानी संस्थाको रुपमा सम्मान गरेको थियो ।