• १८ मंसिर २०८१, मङ्गलबार

सल्यानमा चिया र कफी खेतीको सम्भावनाबारे छलफल

blog

सल्यानमा चिया र कफी खेतिको बारेमा समुदायमा जानकारी दिँदै । तस्बिर: प्रतीक इच्छुक शर्मा

प्रतीक इच्छुक शर्मा
सल्यान, मङ्सिर १४ गते ।
सल्यानमा चिया र कफी खेतीको उत्पादन, प्रवर्द्धन तथा बजारीकरणबारे समुदाय स्तरमा छलफल थालिएको छ । सल्यान चिया र कफी खेतीका लागि उपयुक्त जिल्ला भए पनि चिया र कफीको व्यवासायीक खेती हुन सकेको छैन । किसानलाई व्यवसायिक चिया र कफी खेतीमा आवद्ध गर्न समुदाय स्तरमा छलफल थालिएको हो ।

शारदा नगरपालिका वडा नम्बर ४ पिपलनेटामा समुदायस्तरमा भएको छलफलमा कृषक किरण शाहीले सेजवालटाकुरा, मार्के र पिपलनेटामा कफी फलेको र कफीले राम्रै उत्पादन दिएको भए पनि बजारीकरण र प्राविधिक ज्ञानको कमीले किसान व्यवसायीक खेतीमा नलागेको बताउनुभयो । 

वडा नम्बर ४ का अध्यक्ष किशोर हमालले सल्यानमा लगाइएको कफी फस्टाएको देखिए पनि किसानलाई व्यवसायीक खेतीतर्फ आकर्षित गर्न नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘केही लगाएको कफी राम्रो फस्टाएको पाइएको छ । तर व्यवासायीक खेती हुन सकेको छैन ।’’

कफी उत्पादन बढाउन स्थानीय तहले उत्पादनलाई बढाउन कफी खेतीमा कार्यक्रमहरु ल्याउनुपर्नेमा सहभागी कृषकहरुको जोड थियो । शारदा नगरपालिका ५ का वडा अध्यक्ष प्रदीप शाहीले संभाब्यता अध्ययन गरी कफीखेति विस्तार गर्नुपर्ने बताउनुभयो ।

चिया तथा कफी विकास बोर्ड कार्यालय प्युठानका प्रमुख सिपी बस्नेतले सल्यान, रुकुमपश्चिम, जाजरकोट, दैलेख र सुर्खेत जिल्ला चिया तथा कफी खेतीका लागि उपयुक्त रहेका जानकारी दिनुभयो । कफी उत्पादन भए बिक्रीको समस्या नभएको उहाँको भनाइ छ ।