अविनाश चौधरी
धनगढी, मङ्सिर १४ गते । थारु समुदायमा लवाङ्गी पूजा गरेर मात्र नयाँ धानको भात खाने चलन छ । धानबाली भित्र्याइसकेपछि प्रत्येक गाउँमा यो पूजा गर्ने गरिन्छ ।
बाली वा अन्न पूजाको रुपमा लवाङ्गी पूजा गरेपछि नयाँ धानको भात खाने गरेको कैलारी गाउँपालिका –७ छटकपुर बसन्ता गाउँका भलमन्सा जीयाराम चौधरीले बताउनुभयो । उहाँले सोही चलनअनुरुप आफ्नो गाउँवासीले लवाङ्गी पूजा गरेको जानकारी दिनुभयो ।
यसैगरी, लवाङ्गी पूजाकै दिन गाउँका १९२ परिवारले भजहर पनि मनाएका छन् । भजहर एक किसिमको पूजा कार्यक्रम हो । आपतविपतबाट जोगिनका लागि भजहर मनाउने गरेको गाउँका देशबन्धिया गुरुवा दुर्गाप्रसाद चौधरीले बताउनुभयो । भजहर गाउँभन्दा केही पर वन क्षेत्र वा चउरमा गएर मनाउने गरिन्छ ।
भजहरमा गाउँभरिकै मानिसले एक छाक खाना घरभन्दा बाहिर पकाएर बाहिर खाने चलन छ । लवाङ्गी पूजा र भजहरको अवसरमा परम्परागत नृत्य देखाउनुका साथै कोइली दिदी, छुर, सिक्टीफोरजस्ता पौराणिक खेल खेलेर रमाइलो गरिएको भलमन्सा चौधरीले बताउनुभयो ।