• २० असोज २०८१, आइतबार

धनी र गरिबको खाडल कम गर्न करको समुचित व्यवस्थापन गर्नुपर्छ : डा. संग्रौला

blog

काठमाडौं, जेठ ४ गते । नेपाली कांग्रेसका सांसद डा. डिला संग्रौलाले बजेट आमजनतालाई सकारात्मक प्रभाव पार्ने र निम्नवर्गका तह र तप्कालाई माथि उकास्ने खालको हुनुपर्ने बताउनुभयो ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा आर्थिक वर्ष २०७९/८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतासम्बन्धी छलफलमा भाग लिनुहुँदै धनी र गरिबको खाडल कम गर्न करको समुचित व्यवस्थापन गर्न सक्नुपर्ने सांसद संग्रौलाले बताउनुभयो ।

‘‘उत्पादनमा वृद्धि गर्ने, रोजगारी बढाउने, आयात घटाउने र निर्यात बढाउने खालको बजेट तर्जुमा हुनुपर्दछ । स्वदेशी उत्पादनलाई प्रोत्साहन र विलासिताका वस्तुहरुको आयातलाई हतोत्साही बनाउन जरुरी छ ।,’’ उहाँले भन्नुभयो, ‘‘उत्पादनमूलक क्षेत्रमा लगानीको मात्र बढाउने र निजी क्षेत्रलाई प्रोत्साहन गर्दै सरकारले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनु पर्दछ ।’’

यसैगरी, उहाँले पूर्वाधार विकासलाई जोड दिँदै कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, विद्युत, खानेपानी, सिँचाइ, सडक, सामाजिक सुरक्षा र न्याय जस्ता कुराहरुलाई एकअर्कामा सामानजस्यता कायम गरी प्राथमिकताको आधारमा विकास गर्दै अर्थतन्त्र बलियो बनाउन सुझाव दिनुभयो ।

‘‘बजेटले प्रत्येक नागरिकलाई आफ्नो देशप्रतिको राष्ट्रियताको भावना जगाउँदै स्वदेशमा नै रोजगारी गरी उत्पादन वृद्धि गर्ने र उत्पादित वस्तुको निर्यात गरी अर्थतन्त्र बलियो बनाउन सक्नु पर्दछ ।,’’ उहाँले भन्नुभयो, ‘‘आम्दानीको स्रोतहरुलाई व्यवस्थापन गर्दे अनुपात्दक खर्चलाई कटौती गर्न सक्नु पर्दछ ।’’