• २० असोज २०८१, आइतबार

आर्थिक वृद्धिदर ४० वर्षमा ४ प्रतिशतभन्दा माथि उठ्न सकेन : भट्टराई

blog

काठमाडौं, जेठ ४ गते । पूर्व प्रधानमन्त्री तथा पूर्व अर्थमन्त्री डा. बाबुराम भट्टराईले नेपालको आर्थिक वृद्धिदर गत ४० वर्षमा ३–४ प्रशतिशभन्दा माथि उठ्न नसकेको बताउनुभयो ।

बुधबार प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष भट्टराईले कुनै बेला ६ देखि ८ प्रतिशतसम्म पुगेको थियो तर हाम्रो औसत ४ प्रतिशतभन्दा माथि नभएको बताउनुभयो ।

आर्थिक वर्ष २०७९/८० को लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उहाँले आधुनिकीकरण गर्दै कृषिलाई उद्योगका रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।

‘‘अझै पनि दुई तिहाई जनसङ्ख्या कृषिमा आवद्ध छ, कृषि निर्वाहमुखी भइरहेको छ, कृषिले पर्याप्त रोजगारी सिर्जना गर्न सकेको पनि छैन, विकसित मुलुकमा ५ प्रतिशतभन्दा कम जनसङ्ख्या कृषिमा आवद्ध भएको अवस्था छ, कृषिमा संलग्न जनशक्तिलाई न्यूनीकरण गर्दै लैजानुपर्छ’’, उहाँले भन्नुभयो, ‘‘कृषिमुखी अर्थतन्त्रलाई सेवामुखी अर्थतन्त्रका रुपमा विकास गर्नुपर्छ ।’’

अध्यक्ष डा. भट्टराईले उच्च आर्थिक वृद्धि हासिल गरी समूचित वितरण प्रणालीको अवलम्बन गर्नुपर्ने बताउनुभयो ।

शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा र ठूला पूर्वाधारमा राज्यको दायित्व हुनुपर्ने र कृषि, उद्योग, सेवा तथा पर्यटन निजी क्षेत्रलाई दिइनुपर्ने उहाँले बताउनुभयो ।

अर्थतन्त्रको विकासमा देखिएको संरचनात्मक समस्या समाधान गर्न क्रान्तिकारी ढङ्गले सोच्नुपर्ने उहाँको भनाइ छ । साथै अबका दशक रुपान्तरणकारी नीति लिनुपर्ने उहाँले बताउनुभयो ।

उहाँले राजनीतिक, प्रशासनिक र कानुनी क्षेत्रमा सुधार गरेर मात्र आर्थिक वृद्धि हासिल गर्न सकिने तथा नेपालको संसदीय प्रणालीले राजनीतिक र नीतिगत स्थिरता नदिने भएकाले यसलाई सच्याएर जानुपर्ने सुझाव दिनुभयो । 

‘‘विकासका आवश्यकताका आधारमा प्रशासनिक संरचना बनाइनुपर्छ, ऐन कानुन र परम्परागत न्याय प्रणालीमा सुधार गर्नुपर्छ ।,’’ उहाँले भन्नुभयो, ‘‘यसका लागि विकास विरोधी न्यायिक संरचना बदल्न आवश्यक छ ।’’

यसैगरी, उहाँले बाह्य परिनिर्भरताका कारण नेपालको अर्थतन्त्र पछाडि परेको कारण तुलनात्मक लाभका वस्तुको उत्पादनमा ध्यान दिनुपर्ने बताउनुभयो ।

‘‘आयात र निर्यातको खाडल डरलाग्दो छ, यसलाई नसच्याइ हुँदैन । छिमेकीसँग गम्भीर ढङ्गले कुरा गरेर नेपालले स्पष्ट नीति लिनुपर्छ ।,’’ उहाँले भन्नुभयो ।