• १३ मंसिर २०८१, बिहिबार

पर्यटकीय स्थल सताक्षीधाममा ८७ धारा

blog

नवनिर्मित सताक्षीधामका ८७ धारा ।

लीलाराज खड्का

बिर्तामोड, मंसिर १३ गते । झापाको ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल सताक्षीधाममा  ८७ धारा स्थापना गरिएको छ । 

धार्मिक पर्यटनलाई लक्षित गरी निर्माण गरिएको उक्त धाराको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले विशेष कार्यक्रमविच बिहीवार उदघाटन गर्नुभयो । पौराणिक कथासँग जोडिएको ऐतिहासिक क्षेत्र सताक्षीधाममा जनस्तरबाट निर्मित ८७ धाराको उदघाटन गरिएको हो ।

सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिले दिगम्बेशर शिवलालयको पूर्व सतासी खोलाको तटमा ८७ वटै धारा बनाउने अवधाराणाअनुसार धारा निर्माण गरिएको सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिले जनाएको छ । 

पौराणिक कथासँग जोडिएको यो धामको वास्तविक नाम शताक्षी हो । शताक्षी शब्दको अर्थ  सय आँखा भएकी देवी रहेको र शताक्षीको व्याख्या विभिन्न धार्मिक र सांस्कृतिक सन्दर्भमा जोडिएर आउनेश्री शताक्षी गोवर्धन गौशालाका अध्यक्ष तथा संरक्षक आचार्य नन्दकिशोर भारद्वाजले बताउनुभयो । 

नव निर्मित धारालाई मुक्तिनाथमा भएको १०८ धारा पछिको दोस्रो धारा भएको भारद्वाजले बताउनुभयो । सताक्षीधाममा आउने भक्तजनले ८७ धारामा स्नान गरेर मन्दिरमा पूजा गर्ने प्रबन्ध मिलाइएको छ । 

यसैबिच सताक्षीधाममा अतिथि गृहको पनि बिहीवार नै शिलान्यास गरिएको छ । उक्त अतिथिगृह तीन तलाको हुने धार्मिक तथा पर्यटन विकास समितिले जनाएको छ । अथितिगृह शिलान्यासको क्रममा मुख्यमन्त्री कार्कीले भवन निर्माण गर्न  प्रदेश सरकारको सहयोग रहने बताउनुभयो । 

गोवर्धन गौशालाका संरक्षक भारद्वाजले अतिथिगृह निर्माण गर्न १० लाख सहयोग गर्ने घोषणा गर्नुभयो । अतिथिगृह तीन तलाको ५१ कोठाको हुने भवन स्थानीय तह, प्रदेश सरकार र दाताहरूको सहयोग लिएर निर्माण गरिने धार्मिक तथा पर्यटन विकास समितिका अध्यक्ष तुला बोखिमले बताउनुभयो । कार्यक्रममा प्रदेश सांसद राधाकृष्ण खनाल, पूर्वसांसद तारासम योङ्या, नगरप्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्की लगायतले धार्मिक पर्यटकीयस्थलको प्रचार र निर्माणमा सबैले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।