• १७ असार २०८१, सोमबार

महोत्तरीमा तीनवटा पालिकामा बेग्लाबेग्लै पार्टीका प्रमुखहरु विजयी

blog

मनरासिश्वा नगरपालिकाका नगरप्रमुखमा विजयी भएका नेपाली काँग्रेसका युवा नेता मोहन पाण्डेय

नरेन्द्रकुमार कर्ण

महोत्तरी, जेठ ४ गते । महोत्तरी जिल्लामा रहेको १५ पालिकाहरुको मतगणनाको परिणामहरु आउन थालेको छ । बुधबार जिल्लाको तीन पालिकाको परिणाम सार्वजनिक भएको छ । जसमा रामगोपालपुर, मनरासिश्वा नगरपालिका र महोत्तरी गाउँपालिका रहेका छन् ।

तीनवटै पालिकामा विगतमा निर्वाचन जितेका दलहरुले भने आफ्नो पकड गुमाएको देखिएको छ । जिल्लाको रामगोपालपुर नगरपालिकामा एमालेका प्रमुख र उपप्रमुख विजयी भएका छन् । विगतमा माओवादी केन्द्रले जितेको सो पालिकामा एमालेका रामदुलार साहले ५३४९ मत ल्याएर नेकपा माओवादी केन्द्रका निवर्तमान नगरप्रमुख अशोक कुमार मण्डललाई हराएर विजयी हुनुभएको हो । निवर्तमान नगरप्रमुख मण्डलले ३५८६ मत ल्याउनुभएको छ । 

त्यसैगरी, उपप्रमुखमा एमालेकै रिना देवी यादवले ४२६३ मत ल्याएर नेपाली काँग्रेसका नेतृ पुष्पा देवीलाई हराउनु भएको हो । पुष्पा देवीले ३४०३ मत ल्याउनुभएको हो ।

त्यसैगरी, जिल्लाको मनरासिश्वा नगरपालिकामा नेपाली काँग्रेसले प्रमुख र उपप्रमुख पदमा विजयी हासिल गरेको हो । सो नगरपालिकामा विगतमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले जित हासिल गरेका थिए । नेपाली काँग्रेसका युवा नेता मोहन पाण्डेयले ५८८४ मत ल्याएर विजयी हुनुभएको हो । 

उहाँको प्रतिद्वन्द्वी जसपाका महेन्द्र रायले ४९२० र निवर्तमान नगरप्रमुख लोसपाका नेता सञ्जय कुमार सिंहले २७७२ मत ल्याउनुभएको निर्वाचन कार्यालय महोत्तरीले जनाएको छ । उपप्रमुखमा त्यहाँ काँग्रेसकै शकुन्तला देवीले ५७४५ मत ल्याएर विजयी हुनु भएको हो । १० वडा रहेको यस पालिकामा तीन वडामा काँग्रेस, दुई वडामा एमाले, दुई वडामा जसपा र दुई वडामा लोसपा तथा एक वडामा जनमत पार्टीबाट वडाध्यक्ष विजयी भएको हो ।

त्यस्तै, जिल्लाको महोत्तरी गाउँपालिकामा वृषेश लाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टीले अध्यक्ष तथा जनता समाजवादी पार्टीले उपाध्यक्षमा विजय हासिल गरेको छ । तमलोपाका दीलिप कुमार पाण्डेयले २३३६ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी जसपाका अजयजंग रायले २२०८ तथा निवर्तमान अध्यक्ष लोसपाका नेता सुनिल रायले १८७२ मत ल्याउनुभएको हो । उपाध्यक्षमा जसपाका दिपो देवी पासवानले २०६४ मत ल्याएर तमलोपाका १९९१ मत ल्याएकी ललिता देवी साहलाई हराएर विजयी भएकी हुन् ।