• १३ साउन २०८१, आइतबार

काभ्रेको खानीखोला गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी

blog

केदार तिमल्सिना 

बनेपा, जेठ ४ गते । काभ्रेको डाँडापारी क्षेत्रमा पर्ने खानीखोला गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनका तर्फबाट गाउँपालिकाको अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर थिङ चार हजार ४८५ मत ल्याएर विजयी हुनु भएको हो । उहाँले नेकपा एमालेका उम्मेदवार शेखर लामालाई एक हजार ३२९ मतान्तरले पराजित गर्नुभएको हो । एमालेका लामाले तीन हजार १५६ मत ल्याउनु भएको हो । 

यसैगरी गाउँपालिकाको उपाध्यक्ष पदमा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका दोर्जेमान जिम्बा चार हजार ३२८ मत ल्याई विजयी हुनु भएको छ । उहाँले एमालेकी रुक्मिणी गुरुङलाई एक हजार ३४१ मतान्तरले पराजित गर्नुभएको हो । गुरुङले दुई हजार ९८७ मत प्राप्त गर्नु भएको हो । उहाँ दोस्रो कार्यकालको लागि पुनः उम्मेदवारी दिनु भएको हो । गाउँपालिकाको वडा नम्बर १ को वडा अध्यक्षमा सन्तमान थिङ, वडा नम्बर २ मा दशरथ लामा, वडा नम्बर ३ मा सागर लामा, वडा नम्बर ४ को अध्यक्षमा निशान मोक्तान, वडा नम्बर ५ को अध्यक्षमा बुद्धिबहादुर स्याङ्तान, वडा नम्बर ६ मा बृहस्पति घिसिङ र वडा नम्बर ७ मा राम बहादुर मक्तान विजयी हुनु भएको हो । 

गाउँपालिकाको वडा नम्बर १, ३, ४, ५ मा नेकपा माओवादी, वडा नम्बर २ र ६ मा नेपाली काँग्रेस र वडा नम्बर ७ मा एमालेले वडा अध्यक्ष जितेको हो । यसअघि जिल्लाको भुम्लु गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।