गोरखापत्र समाचारदाता
‘काठमाडौँ, मङ्सिर १३ गते । ‘पूर्णबहादुरको सारङ्गी’ का अभिनेता विजय बरालले अर्को चलचित्र ‘लाज शरणम’ को छायाङ्कन सुरु गर्नुभएको छ । फागुन १४ गते महाशिवरात्रिमा प्रदर्शन गर्ने लक्ष्य राखिएको यस चलचित्रको दोस्रो चरणको छायाङ्कन काठमाडौँको माइतीघरस्थित खाद्य गोदाममा भइरहेको छ । पहिलो चरणमा डोल्पाको ठुलीभेरी नगरपालिकाको दूरगाउँमा छायाङ्कन गरिएको थियो ।
‘लाज शरणम’ लाई चर्चित हास्य टेलिशृङ्खला ‘सक्किगोनी’ का निर्देशक तथा कलाकार कुमार कट्टेल (जिग्री) ले निर्देशन गरिरहनुभएको छ । चलचित्रमा ‘सक्किगोनी’ का कलाकारहरू अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिश निरौला कक्रोज, प्रियाना आचार्य (मुन्नी), बबिन राई (गल्फने बाजे), रामभजन कामत, कमलमणि नेपाल (खुपीका बाउ) लगायतको अभिनय रहेको छ । चलचित्रमा मुकुन्द श्रेष्ठ, प्रशान्त ताम्राकार, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, माला लिम्बूलगायतका कलाकारको पनि अभिनय रहेको छ । चलचित्रको ९५ प्रतिशत छायाङ्कन पूरा भइसकेको जनाइएको छ । जेपिटी क्रियसनको ब्यानरमा निर्माण भइरहेको यस चलचित्रमा नवीन श्रेष्ठ निर्माता र रामनरेश शाह सहनिर्माताका रूपमा रहनुभएको छ ।