सिराज खान
नेपालगन्ज, मङ्सिर १२ गते । नेपालगन्ज उपमहानगरपालिकाले जथाभावी फोहोर फाल्नेलाई कारबाही गर्ने कार्य निरन्तर जारी राखेको छ । सडक तथा सार्वजनिक स्थानमा फोहोर फाल्ने पसल, व्यवसाय र संस्थालाई निरुत्साहित गर्ने उद्देश्यले शुरु गरिएको कारबाही निरन्तर जारी नै रहेको पाइएको छ ।
सो क्रममा मङ्गलबार बिहान पनि सडकमै स्वास्थ्यजन्य फोहोर फालेपछि नेपालगन्जको एक मेडिकललाई पाँच हजार रुपियाँ नगद जरिवाना गराइएको छ ।
भेरी अस्पताल अगाडि रहेको अङ्कित मेडिकल हल तथा अङ्कित अल्ट्रासाउन्डले सडकमा यत्रतत्र फोहोर फालेको पाइएपछि पाँच हजार रुपियाँ जरिवाना गरिएको नेपालगन्ज उपमहानगरका नगर प्रहरी प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर बोगटीले बताउनुभयो ।
स्वास्थ्य महाशाखा र नगर प्रहरीको टोलीले निरीक्षणका क्रममा सडकमै स्वास्थ्यजन्य फोहोर फालेको पाएपछि ‘नेपालगञ्ज उपमहानगरपालिकाको फोहोरमैला व्यवस्थापन ऐन २०७५’ बमोजिम पाँच हजार रुपियाँ जरिवाना तिराएर कारबाही गरेको बोगटीले बताउनुभयो ।
स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द, फार्मेसी अधिकृत डा. अस्मित आचार्य तथा नगर प्रहरी प्रमुख बोगटी र नगर प्रहरी सहायक निरीक्षक पवन कनोजियाको टोली अनुगमनमा गएको बेला सो फोहोर भेटिएको थियो ।
यसअघि पनि एक साताअघि मात्र नेपालगन्ज उपमहानगरपालिकाले सार्वजनिक स्थानमा फोहोर फालेपछि नेपालगन्जस्थित आशीर्वाद पेन्ट्स प्रालिलाई १० हजार रुपियाँ जरिवाना गरेको थियो ।
नगरलाई सफा, स्वच्छ र सुन्दर बनाउन सचेतना प्रवर्धन गर्दैआएको नेपालगन्ज उपमहानगरपालिकाले पछिल्लो समय फोहोर जथाभावी फाल्नेलाई कारबाही गर्दै आएको नेपालगन्जका मेयर प्रशान्त बिष्टले बताउनुभयो ।
उहाँले जथाभाबी फोहोर फाल्नेलाई कुनै पनि हालतमा नछाडिने र कडा कारबाही गरिने उल्लेख गर्दै फोहोरविरुद्ध शुन्य सहनशीलताको नीति अवलम्बन गरिएको बताउनुभयो ।