• ९ मंसिर २०८१, आइतबार

४७ लाख नेपालीमा उच्च रक्तचाप, युवा र पुरुषको सङ्ख्या बढी

blog

काठमाडौं, जेठ ४ गते । पछिल्लो समय युवा अवस्थामा उच्च रक्तचापको समस्या बढी देखिको एक अध्ययनले देखाएको छ । नेपालमा सन् २०१९ मा गरिएको स्टेप सर्भेमा कुल जनसङ्ख्याको २४.४ प्रतिशत अर्थात् ४७ लाख नेपालीमा उच्च रक्तचापको समस्या भएको देखाएको थियो । जसमा, १५ देखि २४ वर्षका झण्डै १० प्रतिशत युवामा उच्च रक्तचापको समस्या देखिएको उक्त अध्ययनले देखाएको हो ।

उच्च रक्तचाप सबैभन्दा बढी ५५ देखि ६९ उमेर समूहलाई देखिएको छ । सो उमेर समूहका ४५.५ प्रतिशतमा उच्च रक्तचाप देखिएको छ । त्यसैगरी रक्तचाप भएकामध्ये १५ देखि २४ वर्ष उमेर समूहका ९.५ प्रतिशत छ। जसमध्ये महिलाको तुलनामा पुरुषको सङ्ख्या बढी छ ।

पुरुष २९.८ र महिला १९.७ प्रतिशत छन् । रक्तचाप भएकामध्ये १० लाखलाई मात्रै आफ्नो उच्च रक्तचाप अवस्थाको बारेमा जानकारी रहेको सर्भेले देखाएको छ ।

रक्तचाप भएकामध्ये चार लाख उपचारको दायरमा छन् भने यसको औषधि सेवन गर्नेहरुमध्ये दुई लाखको मात्र उच्च रक्तचाप नियन्त्रणमा छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतका नसर्ने रोग तथा मानसिक स्वास्थ्य विभागले विश्व उच्च रक्तचाप दिवसको अवसरमा यस्तो जानकारी दिएको हो ।

सरकारले यही वर्षको चैतमसान्तसम्म उच्च रक्तचापको नियमित औषधि सेवन गर्नेको सङ्ख्या बढाएर १० लाख पु¥याउने लक्ष्य लिएको छ । नेपालमा उच्च रक्तचाप भएका व्यक्तिहरु विभिन्न कारणले उपचारको दायरामा आउन नसक्दा उपचारको दायरमा आएकाहरुको सङ्ख्या कम देखिएको नसर्ने रोग तथा मानसिक स्वास्थ्य विभागका प्रमुख डा. फणीन्द्र प्रसाद बरालले जानकारी दिनुभयो । कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ डा .ओम मूर्ति अनिलले पछिल्लो समय उच्च रक्तचाप युवा अवस्थामा बढी रक्तचापको समस्या देखिन थालेको बताउनुभयो ।

युवामा उच्च रक्तचापको समस्या देखिनु चिन्ताको विषय भएको डा .ओम मूर्ति अनिल बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पछिल्लो समय शहरी क्षेत्रमा बस्ने युवामा उच्च रक्तचापको समस्या देखिन थालेको छ । यो ठूलो चिन्ताको विषय हो ।

यसरी युवामा उच्च रक्तचाप देखिनु भनेको उहाँहरुको ऊर्जाशील समयमा नराम्रो असर पर्छ ।” यसरी कम उमेरमै उच्च रक्तचाप हुनुमा मानसिक तनाव, अस्वस्थकर खानपान र शारीरिक अभ्यासको कमी रहेको उहाँले जानकारी दिनुभयो ।

पछिल्लो समय बजारमा पाइने तयारी खाना (जंकफुड) को प्रयोग र बालबालिकाहरुमा शारीरिक गतिविधिमा आएको कमीले अबको केही वर्षपछि सानै उमेरमा उच्च रक्तचापको समस्या देखिन सक्ने भएकाले बेलैमा सचेत रहन उहाँको आग्रह छ । बालबालिकामा यस्तो समस्या हुन नदिन सरकारी स्तरबाट नै जंकफुडको प्रयोगमा कमी ल्याउने र नसर्ने रोगको बारेमा पाठ्यक्रममा नै समावेश गर्नुपर्ने सुझाव डा. अनिलको छ ।

कार्यक्रममा स्वास्थ्य सचिव डा. रोशन पोखरेलले अहिले उच्च रक्तचाप घर घरको समस्या भएको र यसलाई थाहा पाउन र नियन्त्रणमा ल्याउन सबैले आ–आफ्नो स्तरबाट पहल गर्नुपर्नेमा जोड दिनुभयो । उच्च रक्तचाप के हो ? मुटुबाट रगत पम्प भएर शरीरको विभिन्न भागमा सञ्चालन हुने गर्दछ । डा. अनिलका अनुसार रगत सञ्चालन हुने क्रममा रगतले रक्तनलीमा एक प्रकारको चाप पैदा गर्छ । रक्तचापको एउटा निर्धारित चाप हुन्छ ।

जुन बढी वा कम हुनु दुवै हानिकारक हुन्छ । यदि चाप रक्तचाप माथिको १२० र तलको ८० भन्दा कम भएमा सामान्य रक्तचाप भएको बुझ्नुपर्छ । माथिको १२०–१३९ र तलको ८०–८९ भएमा प्रिहाइपरटेन्सन भन्ने गरिन्छ । यदि माथिको रक्तचाप १४० भन्दा बढी र तलको रक्तचाप ९० वा सोभन्दा बढी भएमा उच्च रक्तचाप भएको मान्न सकिने चिकित्सक बताउँछन् ।

टाउको दुख्ने, रिङ्गटा लाग्ने, थकान महसुस हुने, एक्कासि नाकबाट रगत बग्ने, वाकवाकी लाग्ने,मुटुको घड्कन बढ्ने वा रोकिएको जस्तो हुने यसको मुख्य लक्षण हुन् । धूमपान र मदिरा सेवन नगर्ने, हरिया सागसब्जी र फलफूल धेरै खाने, खानामा नून र चिनीको प्रयोग कम गर्ने रातो र धेरै बोसोयुक्त मासु कम खाने, नियमित व्यायाम तथा योग गर्ने गर्दा रक्तचाप हुनबाट बच्न सकिन्छ ।

रक्तचाप नियन्त्रणमा राख्न नियमित रुपमा रक्तचापको जाँच गराउन चिकित्सको सुझाव छ । प्रत्येक वर्ष मे १७ दिन विश्व उच्च रक्तचाप दिवस मनाउने गरिन्छ । ‘दीर्घ जीवनको आधार: नियमित रक्तचाप परीक्षण, नियन्त्रण र उपचार’ भन्ने नारासहित यस वर्षको विश्व उच्च रक्तचाप दिवस मनाइएको छ ।