गुणबहादुर रोका
सुलीकोट, मङ्सिर १२ गते । गोरखाको पालुङटार नगरपालिका – ९ सेरास्थित त्रिवेणी माध्यमिक विद्यालयका विद्यार्थीहरुले स्ट्रबेरी खेती गर्न थालेका छन् । कृषि ज्ञान केन्द्र गोरखा र त्रिवेणी माध्यमिक विद्यालयको सहकार्यमा विद्यालयका विद्यार्थीहरुले स्ट्रबेरी खेती गर्न थालेका विद्यालयका प्रधानाध्यापक गणेशराज सेडाईले जानकारी दिनुभयो ।
उहाँका अनुसार विद्यालयको कक्षा ९ देखि १२ कक्षा सम्म कृषि धारमा अध्ययनरत विद्यार्थीहरुले १ रोपनी क्षेत्रफल भएको जग्गामा स्ट्रबेरी खेती गर्न विद्यार्थीहरुले सुरु गरेका उहाँले बताउनुभयो ।
अहिलेसम्म विद्यालयले कृषि धारका विद्यार्थीहरुका लागि १० रोपनी खेत र ८ रोपनी पाखोबारी भाडामा लिएर धान, मकै मौसम अनुसार आलु लगायतका बेमौसमी तरकारीहरू उत्पादन गरेका छौँ, उहाँले भन्नुभयो, “त्यसै अन्तर्गत यो वर्ष केही नयाँ गरौँ भनेर स्ट्रबेरी खेती सुरु गरेका हौं ।”
गोरखमा स्ट्रबेरी फल अहिलेसम्म कसैले पनि उत्पादन नगरेकाले पनि नयाँ र महँगो पनि भएकाले यसलाई प्राथमिकतामा राखिएको प्रधानाध्यापक सेडाईको भनाइ छ ।
स्ट्रबेरी नयाँ भएकाले अहिले यो वर्ष करिब १ रोपनी क्षेत्रफल जग्गामा लगभग ६ सय बिरुवा लगाइएको विद्यालयले जनाएको छ । स्ट्रबेरीको उत्पादन राम्रो भयो भने १ रोपनीबाट व्यक्तिको जग्गा भाडामा लिएर १० रोपनी क्षेत्रफल भएको जग्गामा स्ट्रबेरी लगाउने सोचमा छौ, प्रधानाध्यापक सेडाईले भन्नुभयो, “उत्पादन राम्रो भए विद्यार्थीहरुलाई ६० प्रतिशत आम्दानी दिने विद्यालयले निर्णय गरेको छ ।”
गोरखाको एक मात्र सामुदायिक विद्यालय त्रिवेणी माध्यमिक विद्यालयका बिद्यार्थीहरुले पढ्दै कमाउँदै गरी उक्त विद्यालयबाट विद्यार्थीहरुले सिजन अनुसार खेती गरी पढ्न किताब, कापी, ड्रेस खाजा र विद्यार्थीहरुले केही रकम जम्मा पारी केही रकम बचत समेत गरेका विद्यालयका प्रधानाध्यापक सेडाईले बताउनुभयो ।
विद्यालयका विद्यार्थीहरुले व्यावसायिक खेती गरी विद्यालय र विद्यार्थीहरुलाई समेत राम्रो आम्दानी भएको विद्यालयले जनाएको छ ।