दैलेख समाचारदाता
दैलेख, मङ्सिर १२ गते । यही मङ्सिर १६ गते हुने महाबु गाउँपालिकाको अध्यक्ष र दुल्लु नगरपालिका–१० को वडाध्यक्ष पदमा आफ्ना उम्मेदवारलाई जिताउन राजनीतिक दलका केन्द्रीय नेताको यहाँ लर्को लागेको छ । महाबु गाउँपालिका अध्यक्ष पदमा सात जनाको उम्मेदवारी परेको छ भने दुल्लु नगरपालिका–१३ को वडाध्यक्षमा छ जनाको उम्मेदवारी परेको छ ।
नेकपा एमालेका केन्द्रीय सदस्य लक्ष्मी पोखरेल, राजबहादुर बुढा, अखिल नेपाल महिला सङ्घका केन्द्रीय सचिव मीनासिंह रखाल, प्रदेश कमिटीका नेताहरू महाबुमा केन्द्रित भएका छन् । महाबु गाउँपालिकाका–६ वडामा विभिन्न कार्यक्रम आयोजना गरी मतदातालाई आफ्नो पार्टीलाई मतदान गर्न आग्रह गरिरहेका छन् । आगामी बिहीबार नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एव पूर्वरक्षामन्त्री ईश्वर पोखरेलसमेत दैलेख आउने कार्यक्रम रहेको बताइएको छ ।
यस्तै नेपाली कांग्रेससमेत आफ्नो विरासत जोगाउन पार्टीका केन्द्रीय नेतादेखि प्रदेशका नेतासमेत महाबु पुगेका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रवक्ता डा. प्रकाशशरण महत, सहमहामन्त्री जीवन परियार, केन्द्रीय जानकी सिंह, मधु आचार्य, गोविन्द भट्टराई, सीता राना, नेपाली कांग्रेसका प्रदेश सभापति ललितजङ शाहीलगायतका नेता महाबुमा पुगेर मत मागिरहनुभएको छ ।
नेकपा माओवादीका नेतासमेत महाबुका विभिन्न वडाबस्तीमा पुगेर पार्टीका पक्षमा मत मागिरहेका छन् । माओवादी केन्द्रका कर्णाली प्रदेश इनचार्ज कालीबहादुर मल्ल, निवर्तमान मुख्यमन्त्री राजकुमार शर्मा, पूर्वमन्त्री टेकबहादुर बस्नेत, कर्णाली प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण जिसी, पूर्वसांसद ललिताकुमारी रेग्मी, केन्द्रीय सदस्य एवं दैलेख इन्चार्ज प्रेम कटुवाल, राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्मालगायत टोली महाबुमा पुग्नुभएको छ । उपनिर्वाचन अनुगमन तथा कार्यकर्ता भेटघाट कार्यक्रम आयोजना गरी मत मागेर उक्त टोली फर्किएको माओवादीका नेताले जानकारी दिएका छन् ।