बैतडी समाचारदाता
बैतडी, मङ्सिर १२ गते । सामान्यतया जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) पछि सहायक प्रमुख जिल्ला अधिकारी, दुई जना अधिकृत, नायब सुब्बा र खरिदारको न्यूनतम जनशक्ति हुन्छ तर जिल्ला प्रशासन कार्यालय बैतडीमा प्रमुख जिल्ला अधिकारीबाहेक नागरिकता जारी गर्ने जनशक्ति नभएपछि शौचालय जान पनि समय कुर्नुपर्ने बाध्यता सिर्जना भएको छ ।
यति मात्रै होइन, इलाका प्रशासन कार्यालय पुर्चौडी, हाटमा वर्षौंदेखि कर्मचारी नहुँदा उताको जिम्मेवारीसमेत प्रमुख जिल्ला अधिकारीकै काँधमा आइपरेपछि सेवाग्राहीको नागरिकता जारी गर्न पनि हम्मे हम्मे परेको छ । दिनभरि नागरिकतामा हस्ताक्षर गर्नुपर्दा पानी खाने र शौचालय जान पनि समय नमिलेको उहाँ बताउनुहुन्छ ।
जिल्ला प्रशासन कार्यालय बैतडीमा लामो समयदेखि सहायक प्रमुख जिल्ला अधिकारी छैनन् । दुई जना शाखा अधिकृतको दरबन्दी पनि खाली छ । जिल्ला प्रशासन कार्यालयमा दुई जना र इलाका प्रशासन कार्यालय पुर्चौडी हाटमा एक जना गरी तीन जना अधिकृतको दरबन्दी खाली हुँदा समस्या भएको बैतडीका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताउनुभयो ।
उहाँले भन्नुभयो, “दिउँसो खाजा खाने र शौचालय जाने समय निकाल्न मुस्किल छ । नागरिकता बनाउने सेवाग्राही मात्रै दैनिक १०० भन्दा बढी आउँछन् । इलाका प्रशासन कार्यालयका सेवाग्राही पनि यतै जिल्ला प्रशासनमा आउँछन् । इलाकामा पनि दरबन्दी अनुसारको जनशक्ति नहुँदा समस्या भएको छ ।”
अर्ध न्यायिक निकायसमेत रहेको जिल्ला प्रशासन कार्यालयमा जनशक्ति नहुँदा बजार अनुगमन, सेवाग्राहीका गुनासो, सीमा अनुगमन जस्ता काम प्रभावित भएका छन् । नागरिकता बनाउन टाढाबाट आएका सेवाग्राहीलाई दुःख नदिई राति र साँझ गरेर भए पनि नागरिकता जारी गर्ने गरिएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताउनुभयो ।