• ११ मंसिर २०८१, मङ्गलबार

बगुवामा सहिद स्मृति आँखा उपचार केन्द्र स्थापना

blog

गुणबहादुर रोका 

सुलीकोट, मङ्सिर ११ गते । गोरखाको भीमसेन थापा गाउँपालिकास्थित बगुवा स्वास्थ्य चौकीमा सहिद स्मृति आँखा उपचार केन्द्र स्थापना भएको छ । भीमसेन थापा गाउँपालिकाले गाउँपालिकाभित्रका नागरीहरूलाई आँखाको उपचारको लागि अन्यत्र धाउन नपरोस् भन्ने उद्देश्यले गाउँपालिकाको वडा नम्बर ५ स्थित बगुवाको स्वास्थ्य चौकी भवनबाट आँखा उपचारको सेवा उपलब्ध गराएको हो ।

भीमसेन थापा गाउँपालिकाले लायन्स आँखा सेवा केन्द्रको सहकार्यमा आँखा उपचार केन्द्रको शुभारम्भ भएको भीमसेन थापा गाउँपालिकाका अध्यक्ष लोक प्रसाद बञ्जराले जानकारी दिनुभयो । 

सेवा केन्द्र सञ्चालनमा आएसँगै अबदेखि पालिकावासी आँखाको उपचारको लागि सहज हुने भएको छ, अध्यक्ष बञ्जराले भन्नुभयो, “आँखाको उपचार सहज रूपमा उपलब्ध गराउने नीति अनुरूप गाउँपालिकाले चालु आर्थिक वर्षदेखि सेवा केन्द्र सञ्चालनका लागि बजेट विनियोजन समेत गरेको छ ।”

आँखा उपचार केन्द्र स्थापना भएसँगै मंगलबार बाटै एक जना नेत्र सहायक नियुक्त गरी सेवा उपलब्ध गराउन थालिएको अध्यक्ष बञ्जराको भनाइ छ । केन्द्र सञ्चालनको लागि आवश्यक सामग्री तथा उपकरण भने लायन्स आँखा सेवा केन्द्र गोरखाले उपलब्ध गराएको लायन्स सेवा केन्द्र गोरखाका अध्यक्ष श्रवणकुमार जोशीले जानकारी दिनुभयो ।