मीना कंडेल
कावासोती, मङ्सिर ११ गते । नवलपुरमा सबैभन्दा बढी महिला हिंसा सम्बन्धी घटनामा वृद्धि भएको छ । विगत तीन वर्षको अवधिमा भएका अपराध तथा हिंसाको तथ्याङ्क हेर्दा जिल्लामा महिला हिंसा सम्बन्धी रहेको पाइएको छ ।
जघन्य प्रकृतिको अपराधका घटनामा जबरजस्ती करणीको अवस्था जिल्लामा निकै चिन्ताजनक रहेको सरोकारवालाहरूले बताएका छन् । साना-साना बालबालिकाहरू नै बढी यौनजन्य हिंसाबाट पीडित भएका छन् । तीन वर्षको बालिकादेखि ६५ वर्षको महिला समेत जबरजस्ती करणीमा परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र (महिला सेल) प्रमुख विन्दु विकले बताउनुभयो ।
चालु आर्थिक वर्षको चार महिनामा जघन्य अपराध अन्तरगत जबरजस्ती करणीमा ६ वटा मुद्दा दर्ता भएको, जबरजस्ती उद्योगमा एउटा, बाल यौन दुर्व्यवहार ३ वटा र बहुविवाहमा २ वटा मुद्दा दर्ता भएको उहाँले बताउनुभयो । यस्तै आर्थिक वर्ष २०७८-०७९ मा जबरजस्ती करणीमा २३ वटा मुद्दा दर्ता भएको थियो भने आर्थिक वर्ष २०७९-०८० मा ११ वटा र आर्थिक वर्ष २०८०-०८१ मा २५ वटा जबरजस्ती करणीको मुद्दा दर्ता भएको छ ।
आर्थिक वर्ष २०७८-०७९ मा १३१ वटा घरेलु हिंसाको निवेदन दर्ता भएकोमा पाँच जना पुरुषले दर्ता गरेको र बाँकी सबै महिलाबाट दर्ता भएको महिला सेल प्रमुख विन्दु विकले बताउनुभयो । यस्तै २०७९-०८० मा १११ वटा दर्ता भएकोमा ११० वटा मिलापत्र भएको र जना अन्यत्र गएकाले मिलापत्र हुन नसकेको उहाँले बताउनुभयो ।
यस्तै आर्थिक वर्ष २०८०-०८१ मा ८१ वटा मुद्दा घरेलु हिंसामा दर्ता भएकोमा ७८ वटा मिलापत्र भएको र ३ वटा बाँकी रहेको जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा चार महिनाको अवधिमा ३८ वटा घरेलु हिंसाका निवेदन दर्ता भएको र जसमध्ये ३० वटा मिलापत्र भएको र आठ वटा प्रक्रियामा रहेको महिला सेल प्रमुख विकले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले अहिलेको समयमा समुदाय शिक्षित हुँदै गएको अवस्थामा समेत हिंसाका घटनाहरू बढ्नु , शिक्षित वर्गबाट नै हिंसा हुनु अनुसन्धानको विषय बनेको भन्दै उहाँले सरोकारवाला सबै मिलेर यस विषयमा गम्भीर भएर लाग्नुपर्ने बताउनु भयो । ‘‘हामी सबैको प्रतिबद्धता लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता’’ भन्ने मूल नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ यस अवधिमा कुनै पनि
हिंसाका घटना नहुन भन्दै समुदायलाई सचेतना प्रदान गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।