• ११ मंसिर २०८१, मङ्गलबार

प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश प्रमुखलाई बुझायो प्रतिवेदन

blog

प्रदेश प्रमुख नजिर मियाँलाई प्रतिवदेन हस्तान्तरण गर्नुहुँदै आयोगका पदाधिकारी । तस्बिर : प्रदेश प्रमुखको निजी सचिवालय

अविनाश चौधरी

धनगढी, मङ्सिर ११ गते । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँलाई आर्थिक वर्ष २०८०-८१ को वार्षिक प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष बालानन्द पौडेलले आज प्रदेश प्रमुख मियाँलाई प्रतिवेदन बुझाउनुभएको हो ।

प्रतिवेदनमा आर्थिक वर्ष २०८०-८१ मा आयोगले सम्पादन गरेको सुदूरपश्चिम प्रदेश र यस प्रदेशमा रहेका स्थानीय तहसँग सम्बन्धित काम कारबाहीहरू समावेश गरिएको छ। 

प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख मियाँले प्रतिवेदनमा उल्लेख भएका विषयहरूबारे प्रदेश सभामा छलफल हुने बताउनुभयो । उहाँले प्रतिवेदन कार्यान्वयनका लागि मुख्यमन्त्रीमार्फत प्रदेश सभामा पठाउने उल्लेख गर्नुभयो । 

यसैगरी, प्रतिवेदनमा औँल्याइएका विषयवस्तुलाई कार्यान्वयनमा लैजान सबैले आ–आफ्नो भूमिका निर्वाह गर्नु प्रदेश प्रमुखको जोड थियो । सो अवसरमा आयोगका सदस्य विपिन निरौलासहित वरिष्ठ तथ्याङ्क अधिकृत दिनेश भट्टराई, उपसचिव लेवन काश्यप अधिकारी, प्रदेश प्रमुखको कार्यालयका सचिव, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।