• ११ मंसिर २०८१, मङ्गलबार

‘रिफ्लेक्टिभ स्टिकर’ अभियान

blog

ट्याक्टरमा रिफ्लेक्टिभ स्टिकर टाँस्दै ट्राफिक प्रहरी । तस्बिर : मीना कँडेल

मीना कँडेल

कावासोती, मङ्सिर ११ गते । नवलपुर ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण गर्न ‘रिफ्लेक्टिभ स्टिकर’ टाँस्ने अभियान सञ्चालन गरेको छ । चिसो मौसम सुरु भएसँगै बढ्दो हुस्सु र रातिको बेला ‘भिजिबिलिटी’ कम भएकाले सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले ‘रिफ्लेक्टिभ स्टिकर’ टाँस्ने अभियान सञ्चालन गरेको हो । 

टल्किने स्टिकर टाढैबाट देख्न सकिने भएकाले दुर्घटनामा कमी ल्याउन सकिन्छ भन्दै यो अभियान सुरु गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले बताउनुभयो । रातिको समयमा स्टिकर नहुँदा यातायातका साधन ठोक्किन गई दुर्घटना हुने भएकाले प्रहरीले सबै सवारीसाधनमा स्टिकर टाँस्न आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय नवलपुरले विभिन्न स्थानमा सवारीसाधनका पछाडिको भागमा टल्किने स्टिकर टाँसेका हुन् । 

सुरुमा १२ ट्याक्टरमा ‘रिफ्लेक्टिभ स्टिकर’ टाँस गरिएको छ । सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले लामो तथा छोटो दुरीका सवारीसाधन, ट्याक्टर र अटोरिक्सालगायतका सवारीसाधनमा स्टिकर टाँस्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख जनकराज बन्जराले बताउनुभयो । बढी दुर्घटना हुने स्थान पहिचान गरी न्यूनीकरणका उपाय, ट्राफिक लाइट सचेतना र लेन अनुशासन तथा डिभाइडर राख्ने कामलाई पनि निरन्तरता दिँदै आएको प्रमुख बन्जराको भनाइ छ ।

नवलपुरमा आर्थिक वर्ष २०८१/८२ को चार महिनामा ३९ सवारी दुर्घटनामा परेका छन् । यसबाट १३ जनाले ज्यान गुमाएका छन् भने २८ जना गम्भीर घाइते भएका प्रहरीको तथ्याङ्क छ । ३७ जना सामान्य घाइते भएका प्रहरीले जनाएको छ । 

कार्यालयले चालकलाई आफू बचौँ र अरूलाई बचाऊँ भन्ने अभियान अन्तर्गत मोटरसाइकल चालकलाई समेत सवारी चलाउँदा ध्यान दिनुपर्ने कुरा, सवारी दुर्घटनाबाट बच्ने उपाय, ट्राफिक नियमसम्बन्धी फिल्डमै प्रशिक्षण दिँदै आएका छन् । जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरीले नवलपुरमा दुर्घटना न्यूनीकरणका लागि विभिन्न अभियान चलाएको छ ।