काठमाडौँ, मङ्सिर १० गते । अपुष्ट र भ्रमपूर्ण सामाग्री प्रसारण गरी समाजलाई दिग्भ्रमित पारेको भन्दै प्रेस काउन्सिल नेपालले थप १० वटा युट्युब च्यानलसहित सामाजिक सञ्जाललाई सोमबार कारबाही गरेको छ ।
तीमध्ये अधिकांश दर्ता र सूचीकरण नगरी सञ्चालित छन् । मिडियाअन्तर्गत दर्ता सूचीकरण नभई सञ्चालित सामाजिक सञ्जाललाई काउन्सिलले अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो) मा पत्राचार गरेको छ ।
काउन्सिलले पछिल्लो समयमा कुनै मिडियासँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेष गरी युट्युब च्यानल तथा फेसबुक पेजबाट सम्प्रेषित सामग्रीको समेत विशेष अनुगमन गरिरहेको छ । सो क्रममा सामाजिक सञ्जालबाट घृणा तथा द्वेष फैलाउने किसिमबाट अपुष्ट, आधारहीन, एकपक्षीय आरोपसहितका सामग्रीमाथि अनुगमन भइरहेको सहप्रवक्ता एवं सूचना अधिकारी रामशरण बोहराद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ ।
गलत, भ्रमपूर्ण, अफवाहपूर्ण, पक्षपोषणयुक्त, गालीगलौजपूर्ण र अतिरञ्जित सामग्रीलाई प्राथमिकतासहित स्थान दिई प्रकाशन प्रसारण गर्ने युट्युबमाथि काउन्सिलले पछिल्लो समय कार्यविधि बनाइ कारबाही प्रक्रिया अघि बढाएको छ ।
यही मङ्सिर ४ गते यस्तै खालका ९ युट्युब च्यानल र पेजलाई काउन्सिलले कारबाही गरेको थियो । सोमबार विना दर्ता सञ्चालित मिसन टुडे, डेलिन्यूज एनपी, सेवायो न्युज, मिडिया ताजा खबर, ऋणी एसोसिएसन र हट न्युज नेपाल नामक युट्युब च्यानल र पेजलाई थप अनुसन्धानका लागि प्रहरीमा पत्राचार गरिएको हो । अन्य माध्यमलाई गलत र भ्रमपूर्ण सामग्री हटाइ, उक्त सामग्री प्रसारण गर्नुको कारणसहित २४ घण्टाभित्र पेस गर्न काउन्सिलले निर्देशन दिएको छ ।
काउन्सिलको अनुगमनको क्रममा मिडियाअन्तर्गत आबद्ध भएका सामाजिक सञ्जाल (युट्युब च्यानल)बाट आम मानिसलाई उत्तेजित बनाउने तथा सन्त्रास फैलाउने, घृणा तथा द्वेष फैलाउने, अपुष्ट, भ्रमपूर्ण, अफवाहपूर्ण अभिव्यक्ति र भनाइलाई प्राथमिकताका साथ स्थान दिई सम्प्रेषित सामग्री पहिलो दृष्टिमा आचारसंहिता प्रतिकूल देखिएको उल्लेख छ ।
‘सञ्चार क्षेत्रलाई व्यवस्थित, विश्वसनीय, मर्यादित र प्रतिष्ठापूर्ण बनाउन प्रेस स्वतन्त्रताको पूर्ण कार्यान्वयन हुनुपर्छ । संविधान र कानुनले स्थापित गरेको पूर्ण प्रेस स्वतन्त्रतालाई पालना गर्न, गराउन साथै गल्ती सच्याउने आमसञ्चार माध्यमको प्रतिबद्धतालाई सम्मान गर्नेतर्फ काउन्सिल सदैव सचेत एवं क्रियाशील छ’, विज्ञप्तिमा भनिएको छ ।
काउन्सिलले सामाजिक सद्भाव बिगार्ने, घृणा तथा द्वेष फैलाउने र वैयक्तिक गोपनीयता प्रतिकूल सामग्री सम्प्रेषण नगर्न र नगराउन सञ्चार माध्यम, आम पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्ता लगायत सम्बद्ध सम्पूर्ण पक्षको गम्भीर ध्यानाकर्षण समेत गराएको छ ।