काठमाडौँ, मङ्सिर १० गते । उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाल संसारलाई देखाउन सक्ने सम्पदाहरूले भरिपूर्ण देश भएको बताउनुभएको छ । सोमबार विश्व सहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा बाल्दै उहाँले पुर्खाहरूले नेपाललाई सुन्दर सहरहरू दिएर गएको बताउनुभयो ।
‘‘संसारलाई देखाउनसक्ने सम्पदाले भरिएको देश हो नेपाल । पुर्खाले छाडेर गएका ती सम्पदालाई राम्रोसँग व्यवस्थित गरेर संसारलाई चिनाउनुपर्छ,’’ उपप्रधानमन्त्री सिंहले भन्नुभयो ।
उहाँले विगतमा अहिलेको काठमाडौँ काष्ठमण्डपका रूपमा रहेको सन्दर्भ चर्चा गर्दै तत्कालीन समयमा काष्ठमण्डप आर्थिक गतिविधिको केन्द्र रहेको स्मरण गर्नुभयो । उपत्यकाभित्र पशुपतिनाथ मन्दिर, बौद्ध स्तूपा, चाँगुनारायण मन्दिर, भक्तपुर दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, हनुमान ढोका दरबार र स्वयम्भू महाचैत्य विश्व सम्पदा सूचीमा समावेश छन् । यी नै सम्पदाको जगेर्ना गर्दै पर्यटक आकर्षित गर्न सकिने भन्दै उहाँले व्यवस्थित सहरीकरणमा आफ्नो जोड रहेको बताउनुभयो ।
सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेपछि दीर्घकालीन रूपमा असर गर्ने भएकाले नीतिगत कुरामै जोड दिएको भन्दै उहाँले सहरी नीति ०८१ मन्त्रिपरिषदमा अन्तिम चरणमा रहेको जानकारी गराउनुभयो । सहरी नीति मन्त्रिपरिषदबाट स्वीकृत भएलगत्तै त्यसलाई कार्यान्वयनमा लैजानका लागि आवश्यक पर्ने ऐन बनाउन तदारुकताका साथ मन्त्रालय अघि बढिरहेको पनि उपप्रधानमन्त्री सिंहले बताउनुभयो ।
त्यस्तै, उपप्रधानमन्त्री सिंहले युवाहरूसँग नयाँ आइडिया हुने भन्दै योजना निर्माणको प्रक्रियामा युवा र स्थानीय तहलाई भूमिका दिनुपर्नेमा जोड दिनुभयो । युवा उत्प्रेरित स्थानीय योजना र प्रयास : जलवायुमैत्री दिगो आवास र सहरी विकास नाराका साथ यस वर्षको विश्व सहर दिवस र विश्व सहर योजना दिवस मनाइएको हो ।
कार्यक्रममा यस वर्षको उत्कृष्ट शोधपत्रका लागि पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्रबल दाहाल र ख्वप इन्जिनियरिङ कलेजका विराट शाक्यलाई उत्कृष्ट शोधपत्र पुरस्कार वितरण गरिएको थियो । नेपाल क्षेत्रीय तथा सहरी योजनाकार समाज (रुप्सन)ले उत्कृष्ट शोधपत्र पुरस्कारको संयोजन गरेको थियो ।