• १० मंसिर २०८१, सोमबार

खोरेत रोग विरुद्ध खोप अभियान

blog

मकवानपुरमा खोरेत रोग विरुद्धको खोप लगाइँदै । तस्बिर : अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, मङ्सिर १० गते । पशुमा लाग्ने खोरेत रोग अन्त्यका लागि मकवानपुरमा खोरेत रोग विरुद्ध खोप अभियान थालिएको छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका र मनहरि गाउँपालिकामा खोरेत रोग विरुद्ध पशुहरूमा खोप लगाउन थालिएको पशु सेवा कार्यालय मकवानपुरले जनाएको छ । 

दश स्थानीय तह रहेको मकवानपुर जिल्लामा करिब एक लाख पशु (गाई र भैँसी) लाई खोप लगाउने लक्ष्य राखिएको पशु सेवा कार्यालय मकवानपुरका पशु चिकित्सक डा.विजय पौडेलले जानकारी दिनुभयो । पहिलो चरणमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नं. ९, १२ र १५ मा चार हजार र मनहरि गाउँपालिका वडा नं. ६ र ७ मा दुई हजार डोज खोप लगाउन सुरु गरिएको उहाँले जानकारी दिनुभयो । 

पशु सेवा कार्यालय मकवानपुरले मङ्सिर पहिलो साताबाट सुरु गरेको खोप अभियान पशुको ओसारपसार बढी हुने र रोग फैलने हेटौँडाको रातमाटे र मनहरिको लोथर क्षेत्रलाई बढी प्राथमिकता दिएर सञ्चालन गरिएको हो । बढी जोखिमयुक्त ठाउँमा छ÷छ महिना र अन्य ठाउँमा वर्षमा एक डोज खोप लगाइने गरिएको छ ।

एक पकेट खोरेत रोग मुक्त अभियान अन्तर्गत प्रदेश सरकारबाट प्राप्त भएको छ हजार डोज खोप वितरण गरिएको र सङ्घीय सरकारबाट गत बर्सहरूमा झैँ यस वर्ष पनि करिब ९६ हजार बढी खोप प्राप्त हुने र यहाँको सबै स्थानीय तहमा खोरेत रोग विरुद्धको खोप अभियान सञ्चालन गरिने पशुसेवा कार्यालय मकवानपुरले जनाएको छ । गत आवमा हेटौँडाको १५ र १६ नं. वडाबाट खोरेत रोगको प्रकोप सुरु भएको थियो । जिल्लामा गत आवमा करिब ५५ हजार डोज खोरेत विरुद्धको खोप लगाइएको थियो ।

त्यस्तै चालु आवका लागि पशु सेवा विभागबाट पिपिआर खोप तीन लाख दुई हजार, बङ्गुर (क्लासिकल स्वाइन फिवर) ८ हजार र गाई भैँसीको लागि भ्यागुतेका लागि दश हजार डोज खोप प्राप्त भएको पशु सेवा कार्यालय मकवानपुरले जनाएको छ ।

खोरेत रोग लागेका पशुहरूलाई ज्वरो, मुख तथा थुन वरिपरि फोका, खुरको कापमा घाउ, खान रुचि खट्नु, खान नसक्नु, झोक्राउनु, झुसिलो देखिनु, मुखबाट र्‍याल  काढ्नु लगायतका लक्षण देखापर्ने गरेका छन् । खासगरी खोरेत रोग सिधा सम्पर्क, हावामा फैलिएका जनावरको श्वासप्रश्वास, दुध, वीर्य, दानामा प्रयोग भएको सङ्क्रमित एनिमल प्रोटिनका स्रोतहरूबाट फैलिने गरेको पशु प्राविधिकहरूको भनाइ छ । पशुमा विषाणुको कारणले लाग्ने महामारी खोरेत नेपालमा अहिलेसम्म सात प्रजातिको भेटिएका छन् ।