• १० मंसिर २०८१, सोमबार

डलर र युरो रकमसहित तीन जना भारतीय नागरिक पक्राउ

blog

बरामद भएको विदेशी मुद्रासहित पक्राउ परेका भारतीय नागरिकलाई सार्वजनिक गरिर्दै । तस्विरः अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, मङ्सिर १० गते । जिल्ला प्रहरी कार्यालय मकवानपुरले स्रोत नखुलेको विदेशी मुद्रासहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले सोमबार पत्रकार सम्मेलनमार्फत स्रोत नखुलेको ४६ हजार विदेशी मुद्रासहित तीन जनालाई सार्वजनिक गरिएको हो । 

प्रहरीले भारत उत्तर प्रदेश जिल्ला जालौन बस्ने ४० वर्षीय विजय सिंह कुशवाह, उत्तर प्रदेश जिल्ला गोरखपुर बस्ने २६ वर्षीय प्रशान्त पाठक, र राजस्थान चितोरगढ बस्ने ३२ वर्षीय राहुल कुमार माण्डावतलाई स्रोत नखुलेको विदेशी मुद्रासहित पक्राउ गरेको हो । प्रहरीले कुशवाहको साथबाट अमेरिकी डलर बाह्र हजार, पाठकको साथबाट चौध हजार युरो र माण्डावतको साथबाट बिस हजार अमेरिकी डलर बरामद गरेको थियो । 

प्रहरीका अनुसार बरामद भएको विदेशी मुद्राको नेपाली बजार मूल्य अनुसार बैसठ्ठी लाख नब्बे हजार पैतिस रुपियाँ छ । प्रहरी उपरीक्षक विश्वराज खड्काको नेतृत्वमा खटिएको प्रहरीले आइतबार साँझ विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको हो । 

हेटौँडा–१ स्थित चौकी टोलको हेटौँडा–भैँसे सडक खण्डमा काठमाण्डौँबाट हेटौँडातर्फ आउँदै गरेको  बा.प्र.०३–००१ ज ०७६५ नं. को यात्रुवाहक इभि माइक्रो बसमा चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको विदेशी मुद्रा बरामद भएको हो । 

बरामद भएको स्रोत नखुलेको विदेशी मुद्रासहित उनीहरूलाई आवश्यक कारबाहीको लागी राजश्व अनुसन्धान कार्यालय मीन भवन ललितपुर पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिनुभयो ।