• १२ पुस २०८१, शुक्रबार

जाडो छल्न आइपुगे पाहुना चरा

blog

नारायणी नदी आसपासमा जाडो छल्न आएका चरा । तस्बिर : चन्द्रा महतो

मीना कँडेल

कावासोती, मङ्सिर १० गते । पूर्वी नवलपरासीको नारायणी नदी आसपासका क्षेत्रमा यतिबेला जाडो छल्न विभिन्न किसिमका चरा आइपुगेका छन् । मङ्सिर लागेसँगै खोया हाँस, कर्‍याङकुरुङ, जलेवा, सिन्दुरे हाँसलगायतका पाहुना चरा नवलपुरका सिमसार र नदी आसपास आइपुगेको संरक्षणकर्मीले बताएका छन् ।

चितवन राष्ट्रिय निकुञ्जको उत्तर भएर बग्ने नारायणी नदीमा चखेवाका जोडी देखिन थालेको नेचर गाइड चन्द्रा महतोले बताउनुभयो । नारायणी नदीमा रैथाने, जाडो महिना, गर्मी महिना र क्षेत्र पास गर्न पाँच प्रकारबाट चरा देखिने गरेका छन् । विशेष गरी पानीमा रहने चरा यहाँ बसाइँ सरेर आउने गरेका छन् । साइबेरिया, चीन, बर्मा, मङ्गोलिया, रुस, कोरिया, थाइल्यान्डलगायतका देशबाट आगन्तुक चरा यतिबेला यस क्षेत्रमा आउने गरेको नेचर गाइड महतोले बताउनुभयो । 

आन्तरिक रूपमा समेत देशका विभिन्न स्थानबाट बसाइँसराइ गरी चरा यस क्षेत्रमा आउने क्रममा यो पनि आएको नेचर गाइड मानबहादुर चौधरीले बताउनुभयो । यहाँ आउने चरामा हाँस प्रजातिका चरा, जलेवालगायत विभिन्न प्रजातिका चरा आउने गरेको उहाँको भनाइ छ । 

सेप्टेम्बरदेखि डिसेम्बरसम्म चरा आउने र फेब्रुअरीदेखि गर्मी बढ्न थालेपछि आफ्नो पुरानो वासस्थानमा फर्किन सुरु गर्ने उहाँले बताउनुभयो । अप्रिलसम्ममा जाडोमा आएका सबै चरा पुनः जहाँबाट आएको हो त्यही देश फर्किने उहाँले बताउनुभयो । नारायणी नदी, नवलपुरसहित चितवन राष्ट्रिय निकुञ्जका सिमसार क्षेत्रमा अहिले आगन्तुक चरा सहजै देख्न सकिने नेचर गाइड चौधरीले बताउनुभयो । 

झन्डै नौ हजार मिटर उचाइसम्मको उडान भर्न सक्ने खोया हाँस नारायणी र राप्ती नदीमा विचरण गर्न आउने तथा रातको समयमा बस्तीछेउका धान खेतसम्म पुग्ने गरेको संरक्षणकर्मी डिबी चौधरीले बताउनुभयो । नवलपुर क्षेत्रमा जलपन्छी देखिन थालेसँगै चरा, गोही तथा वन्यजन्तुको अवलोकनका लागि जङ्गल सफारी तथा डुङ्गा सयर गर्ने विदेशी पाहुनाको सङ्ख्या पनि बढ्न थालेको छ ।

यहाँ देखिने ठुला जलेवाका बथान पनि नारायणी नदीमा आइसकेको र ठुलो सङ्ख्यामा रहने जलेवाका झुन्ड एकसाथ आहारका लागि नदी छिर्दा अत्तालिएका माछा छोप्न हाँस, बकुल्लाको तम्सिएको दृश्य रोमाञ्चक हुने गर्दछ । अन्य चरामा सिन्दूरे हाँस, कैलो टाउके हाँस, अलकचन्द्र राजपुत्रिका, वनसु सुडिया, बैकाल गैरी र ठुलो जलरङ आदि रहेका यसै गरी कलहाँस, सिउरे डुबुल्की चरा, श्वेत माछा कलहाँस, सिम कुखुरा, ध्वाँसे सिम कुखुरा, हलिमुखे, जुरे हुटिट्याउँ र कालीजुरे हाँस देखिने गरेका छन् ।  

जाडो मौसममा यहाँ विभिन्न प्रजातिका चराको उपस्थिति बाक्लो हुने गरेकाले चरा गणनाको कार्यक्रमसमेत गर्ने गरिएको छ । नारायणी नदी र आसपासका क्षेत्रमा गत वर्ष ४१ प्रजातिका चरा भेटिएको संयोजक चौधरीले बताउनुभयो ।