• ९ मंसिर २०८१, आइतबार

सहकारी समस्या तत्काल समाधान गरियोस् : व्यापारी

blog

तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौं, मङ्सिर ९ गते । साना तथा मझौला व्यापारीहरूले सहकारी समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन् । काठमाडौँको न्युरोड क्षेत्रमा व्यापार/व्यवसाय गर्दै सहकारी क्षेत्रमा आएका सङ्कटका कारण पनि आफूहरूको व्यवसाय फस्टाउन नसकेको प्रतिक्रिया समेत दिएका छन् ।

व्यापारीहरूले वैदेशिक रोजगारीमा जानेहरूको लर्कोले पनि व्यापार दिनप्रतिदिन घट्दै गइरहेको बताए । राष्ट्रिय व्यापार सङ्घका उपाध्यक्ष वैकुण्ठ दाहालले सहकारीको समस्याले होलसेल बजारमा धेरै ठुलो नकारात्मक असर परेको गुनासो गर्नुभयो ।

उपाध्यक्ष दाहालले भन्नुभयो, ‘‘बजारको अवस्था निराशाजनक छ । यसको मुख्य कारण सहकारीमा आएको समस्या नै हो । यसका कारणले बजारलाई धेरै असर गरेको छ । सहकारीबाट हाम्रो कारोबार भइराखेको थियो । यहाँ ९० प्रतिशत व्यापारीको कारोबार सहकारीबाट छ । तर अहिले सरकारीमा समस्या आएपछि यसले होलसेल बजारलाई धेरै असर गरेको छ । बैङ्कले पनि ठुला व्यापारीहरूलाई मात्रै सहज ढङ्गले ऋण दिने अवस्था छ । तर साना र मझौला व्यापारीहरूलाई भने लोन लिन नै कठिन छ ।’’

उहाँले सो समस्या समाधान गर्न र बैङ्क तथा वित्तीय संस्थाहरूलाई साना तथा मझौला व्यापार, व्यवसायमा लोन प्रवाह गरिदिन पनि सरकारसँग माग गर्नुभयो ।

‘‘बैङ्क तथा सहकारीले व्यवसायीलाई लगानी गरिदियो भने व्यापार गर्न सजिलो हुन्छ । सबैलाई उठ्न सजिलो हुन्छ । व्यवसायीको अभिभावक भनेको सरकार हो । ऊ चनाखो भइदिनु पर्दछ । दुःखमा, पीडामा, मर्कामा परेका व्यवसायीलाई सरकारले हेरिदियो भने मात्रै उनीहरूले केही गर्न सक्छन् ।’’ उहाँले भन्नुभयो ।

पुस्तक व्यापारीहरू पनि युवा पुस्ता प्लस टु सकिएपछि बिदेसिने क्रम बढेकाले व्यापार ठप्प भएको बताउँछन् । खाँडादेवी सेकेण्ड हेण्ड बुक सपका सञ्चालक आशिष् खत्रीले गत वर्षको तुलनामा यस वर्ष पुस्तकको व्यापार ५० प्रतिशतभन्दा बढी घटेको बताउनुभयो । पढ्ने उमेरका युवाहरू विदेश जाने भएपछि व्यापार घट्ने कुरा स्वाभाविकै हुने उहाँको बुझाइ थियो ।

‘‘अहिले धेरैजसो युवाहरू प्लस टु सकिएपछि बाहिर जाने होड चलेको छ । अहिलेसम्म भन्ने हो भने हाम्रो स्कुल लेबल र कलेजको ११, १२ सम्म त ठिकठिकै जस्तो छ । तापनि सन्तोषजनक छैन ।,’’ खत्रीले भन्नुभयो, ‘‘अब स्नातकको भन्ने हो भने जिरो नै छ । नयाँ वा पुरानो जुन पुस्तक पनि चार÷पाँच सेटभन्दा बढी बिक्री हुने अवस्था छैन । पुरानो पुस्तक पनि ५० प्रतिशतभन्दा कम व्यापार हुने गरेको छ पहिलाको तुलनामा । अब अहिलेको व्यापार निराशाजनक छ भन्नुपर्छ ।’’   

जुत्ताको व्यापार गर्दै आएका व्यवसायीहरूले पनि जुत्ता लगाउने जनशक्ति बाहिर गएकाले आफूहरूको व्यापार नभएको बताएका छन् । जुत्ता लगाउने युवा उमेरका मानिसहरू विदेशमा रोजगारीका लागि जाने क्रम बढेकाले जुत्ताको व्यापार विगतको भन्दा २५ प्रतिशत पनि हुन नसकेको दाबा सुज एण्ड फेसन सेन्टरका सञ्चालक छावाछिरिङ लामाको अनुभव छ । उहाँले बजारमा ग्राहकको नै अभाव देखिएको पनि बताउनुभयो ।

लामाले भन्नुभयो, ‘‘अहिले ग्राहकको फ्लो धेरै कम छ । महाबौद्धको पसलमा हामी यसरी खाली हात बस्ने त होइन नि । पहिला पहिला यतिखेर बजार प्याक हुन्थ्यो । कस्टम्बरसँग बोल्नका लागि फुर्सद नै हुनुन्थ्यो । अहिले त रिटेलभन्दा पनि होलसेल बजारको अवस्था नाजुक भइसक्यो । नेपालमा अब जुत्ता लगाउने मान्छे नै छैनन् । सबै बाहिर कुद्ने बाहेक अरू कोही छैन । अहिले नेपालमा २५ प्रतिशत पनि जुत्ता लगाउने छ कि छैन भन्ने अवस्था छ ।’’

भूकम्प र कोभिड महामारीपछि आफूहरूको व्यापार खस्कँदै गएको नमुना फेसन कलेक्सनका नवराज गौतमले बताउनुभयो ।सहकारीको बचत रकम फिर्ता नहुँदा पनि व्यवसाय चलाउन कठिन भएको उहाँको भनाइ छ ।

गौतमले भन्नुभयो, ‘‘पहिलाको जस्तो चहलपहल छैन, बजार सुनसान छ । मन्दीका कारण यस्तो भयो भन्छन् । भूकम्प, कोभिडपछिबाट नै यस्तै छ । गत वर्षको भन्दा यस वर्षको व्यापार आधी पनि छैन । धेरै कम छ  । मन्दी छ । फाइनान्समा डिपोजिट गरिएको पैसा दिएको छैन पनि भन्छन् । त्यसैले पैसा हुँदैन । समस्या छ ।’’

व्यापारीहरुकाअनुसार देश भित्रै रोजगारी अभिवृद्धि गर्ने र सहकारीलगायतका वित्तीय संस्थाहरूलाई व्यवसायमैत्री बनाउन सकेमात्रै मुलुकमा व्यापार व्यवसाय फस्टाउने भएकाले यस काममा सरकारले विशेष ध्यान दिनुपर्दछ ।

राष्ट्रिय व्यापार सङ्घका उपाध्यक्ष दाहालले बैङ्कहरूले ठुलो व्यापारीहरूलाई मात्रै लोन दिने भएकाले पनि आफूहरू मारमा परेको उल्लेख गर्दै यस्तो अवस्थामा सरकारले आफूहरूको संरक्षण हुनेगरी कानुनी व्यवस्था गर्नुपर्ने बताउनुभयो ।