फारसीबाट उर्दुमा र उर्दुबाट हिन्दी हुँदै नेपालीमा भित्रिएको गजल गायन परम्परा नेपाली आधुनिक सङ्गीतको उठानको मूलविन्दुमै बिजारोपण भएको देखिन्छ । मोतीराम तथा सेतुराम गजल बियाडका बिजक हुन् । ‘यता हे-यो यतै मेरा नजरमा राम प्यारा छन्’ बोलको गजल मोतीराम–सेतुरामकृत संवत् १९६५ पछिका डिस्क रेकर्डले यही कुराको पुष्टि गरेको देखिन्छ । यही तथ्यलाई टेकेर नेपाली आधुनिक सङ्गीतको आवृत्ति सय वर्ष भयो भन्न थालिएको हो । यही रेकर्डलाई आधुनिक सङ्गीतको आरम्भ विन्दु मान्ने गरिएको छ अर्थात् डिस्क रेकर्डमा गीत रेकर्ड भई आएका तथ्य भेटिए नेपाली सङ्गीतको आधुनिक इतिहास अझै अगाडि जाने छ ।
नेपाली शास्त्रीय सङ्गीतको सन्दर्भ त्योभन्दा निक्कै अघि जान्छ भने लोकसङ्गीत अझै प्राच्य विषय हो । त्यो अनन्त गहिराइमा पुग्छ र सभ्यता–संस्कृतिसँग गाँसिन्छ । नेपाली सुरकर्मीहरूले यस विषयलाई त्यति वास्ता गरेको देखिँदैन । सङ्गीत क्षेत्रका स्रष्टा अध्येता वा टिप्पणीकार, आलोचक समालोचक यही संवत् १९६५ माइलखुट्टी वा मानकभन्दा अगाडि जान सकेका छैनौँ । त्योभन्दा पनि अघि नेवारी, हिन्दी, उर्दु, बङ्गाली तथा संस्कृत भाषाका गीत गजल (लिच्छवि मल्लकालीन सेरोफेरोमा) भने गायनमा आएका तथ्यादि छन् ।
उपत्यकाभित्र मौजात रहेका खलःखेल, बहाल बिहार, मञ्च र निक्कै अघि दब डबली खण्डहरूले ती कुराका स्मृति दिन्छन् । नेपालको आधुनिक इतिहासको आरम्भसँगै गाँसिएको भारतीय भूमिका अङ्ग्रेजको उपस्थिति र त्यसले ल्याएको पाश्चात्य सङ्गीतको जग र प्रभाव भारतमा मात्र नभएर नेपालमा पनि नपरेको होइन । त्यसबेला नेपालमा रेकर्डिङ गर्ने कुनै साधन नभएका कारण भारतको कलकत्ता, बम्बै आदि ठाउँमा पुगेर रेकर्ड गरी ल्याएका थुप्रै डिस्क रेकर्डमा गजल, झ्याउरे, ठुमरी, नेवारी, भजन, निर्गुण, राग रागिनी तथा नाटकादिका विभिन्न प्रकारका डिस्क रेकर्ड यदाकदा अहिले पनि भटिन्छन् ।
डिस्क रेकर्डमा भेटिए अनुसार गजल उल्लेख गरिएका पुराना शास्त्रीय छनकका गीतमा मिस प्रभाको स्वरमा रहेको ‘किन छाड्यौ तिमीले रस चाखी निष्ठुरी’, मिस पारुलवालाको आवाजमा रहेको ‘प्रेम अग्निमा परी’, उस्ताद साहिँलाले गाएको ‘नआ गाउनको सारी मेरो’, उस्ताद बद्रीले गाएको ‘गर्नु फिराद कसमा’ साथै ‘मेरो बारीको मोल नदे’ (ठुमरी) पनि डिस्क रेकर्ड गायनमा रहेका छन् ।
रेडियो नेपालको स्थापनापछि गीत लेख्न उत्रिएका प्रायः गीतकारहरूले गजल रचना गरेनन् । तथापि छन्दका केही रचना भने गायनमा आए । दस साल यता करिब तीन दशक नेपाली रचना र सङ्गीत आफ्नै मौलिक पहिचान बनाउँदै बित्यो । रेडियो प्रसारणको सुरुमा सङ्गीत नभनेर ‘तरज’ भन्ने चलन थियो । हिजो गाइँदै आएका उर्दु हिन्दी गीत गजल सतत हटे । यो नेपाली सुरकर्मीकै योगदान थियो ।
संवत् २०३० पछि मोतीरामद्वारा रचित ‘यता भए न उता भएँ’ गजल गायक भक्तराज आचार्यले स्वरबद्ध गरेका छन् । तिसदेखि चालिसबिचमा त्यति धेरै नेपाली गजल गायन भएको देखिँदैन । यसबिचमा शम्भुप्रसाद ढुङ्गेल, भीमनिधि तिवारी, उपेन्द्रबहादुर जिगर आदिका गजल फाट्टफुट्ट गायनमा नआएका भने होइनन् । बूँद राना, मनु ब्राजाकी हुँदै ज्ञानुवाकर पौडेल, रवि प्राञ्जल, ललिजन रावल आदिका गजल पनि गायनमा भने चालिसपछि मात्र आए तर ती गाइएका गजल संरचनामा गजल भए पनि ती गीतकै आडमा अगाडि बढेका हुन् । यस अर्थमा गजलकारले पनि गीतकै रूपमा गाउन दिएको हुनु पर्छ ।
भीमनिधि तिवारीको ‘धोको सबै पु¥याऊ जाँदो छ जिन्दगानी’ गजल (स्वर बिके गिरी, सङ्गीत बुलु मुकारुङ) संवत् २०४६ को सुरुमै कालिकाथानमै म्युजिक नेपाल हुँदा रेकर्ड भई नेपाल टेलिभिजनबाट प्रसारित भयो । जुन गजल सहनशीला सुशीला टेलिचलचित्रका लागि प्रयोग गरियो । तिवारीका केही गजल डा. रमेश पोखरेलले रेकर्ड गरे । ‘पिउँदै नपिउने मान्छे पिएँ अलिकति’– बूँद रानाको गजललाई अम्बर गुरुङले ‘अम्बरका अमर भाका’ कार्यव्रmममा गाए । यही समय ललिजन रावलका रेडियो नेपालमा रेकर्ड भएका ‘बाटो हेरी–हेरी’– स्वर कमला श्रेष्ठ, ‘एउटा परदेशी आई’ स्वर देविका प्रधान, म्युजिक नेपालबाट निस्केको ‘गुञ्जन’ एल्बममा ‘जति टाढा भयो उति’ सीके रसाइली र इना श्रेष्ठले गीतका रूपमा गायनमा ल्याएका हुन् । रावलकै गजलहरू मनोहर पाण्डेले ‘टुव्रmा टुव्रmाहरूमा’, बिके रानाले ‘नपिएरै आज मलाई कस्तो लाग्यो मात’ गायनमा ल्याए । ती सबै गीतका रूपमा प्रस्तुत भएका गजल थिए ।
हरिभक्त कटुवालले रचना गरेको ‘टिपिदेऊ दिदी टिपिदेऊ’ गजल अरूणा लामाले संवत २०५० भन्दा अघि नै गाइन् तर ती रचनालाई पनि गजल भनिएन र गीतका रूपमा प्रचारित गरियो । गायक मुरलीधरको एकल गायनमा पनि ‘फूलबारी’, गीतल एल्बम भनेर बजारमा निस्कियो । मिठै स्वर सङ्गीत रहे पनि त्यसभित्र समेटिएका कतिपय गजल, गजलको संरचनाभित्र छैनन् भन्ने मत यदाकदा नउठेका होइनन् ।
बाउन्न सालतिरै शक्तिबल्लभले मोतीराम, कालीप्रसाद रिजाल आदिका थुप्रै गजल समेटी ‘गजल्स’ एल्बम एकल गायनमा ल्याए । त्यसपछि संवत् २०५४ मा गजदीश समाल र प्रवीण बराइलीकृत ‘बुलबुल’ एल्बम सङ्गीतको बजारमा देखाप¥यो । धनबहादुर गोपालीको गायनमा ललिजन रावलको ‘जिन्दगीको लामो बाटो’ गजल गीतका रूपमै प्रसारित भयो । उनले गजल गीति एल्बम ‘पूर्वाङ्ग’ निकाले । त्यसपछि पचपन्नतिर विनोद दाहाल तथा सविता मालाकारले पनि रावलका गजल गाए । सन्ताउन्नमा इन्दिरा श्रेष्ठले ‘तिमी बिना’ एल्बम निकालिन् । जसमा रावलका केही गजल र अन्यका केही गीत थिए । त्यसबेला नेपाली गजल गायनमा आउने व्रmम सघन रूपमा बढे पनि त्यसले चर्चा परिचर्चा अनि सामाजिक मान्यता भने पाउन सकेन ।
साठी सालपछि पुनः शक्तिबल्लभले आफ्नो एकल गायनमा ‘सप्तक’ एल्बम बजारमा ल्याए । जसमा तिवारी, ब्राजाकी, रावल, पौडेल, राजेन्द्र थापा, राजेन्द्र पौडेल, एस्पी कोइराला, बिबी थापा, आदिका गजल समेटिए । एकसट्ठी सालतिरै घनश्याम न्यौपाने परिश्रमी, पौडेल, राना र रमेशहरि समर्थनका गजलहरू ‘म आकाश भएको हुन्छु’ गजल एल्बम बजारमा आयो । जसमा राजेशपालय राई, रामकृष्ण ढकाल, जगदीश समाल, आनन्द कार्की आदिका स्वर तथा दीपक पाठकको एकल सङ्गीत थियो । गजल गायनकै व्रmममा २०६२ सालमा ‘विम्ब’ रचना कृष्णहरि बराल, सङ्गीत गैरे सुरेश एल्बम आयो । योगेश वैद्य, कुन्ती मोक्तान, सपनाश्री, स्वरूपराज आचार्य आदिले गजल गाए ।
यही साल गायक कृष्णभक्त राईले रेडियो नेपालमा ‘रोऊ भने कति रोऊँ आँसु पुछ्ने को छ मेरो’ –रचना रावल, गजल रेकर्ड । त्यसपछि गायक शिव परियारले ‘निँद छैन रातमा पनि सधैँ जागा बसेको छु’ र रोशन शाहीले ‘बेसै हुन्थ्यो तिमीलाई नदेखेको भए’ (२०६३) गजल गायनमा ल्याए ।
साठी सालपछि रचनाका हिसाबले गजलका कृति तथा सिर्जना उर्वर आरोहणमा उक्लिए । देशभरि नै गजल लेखन र कृति प्रकाशनको लहर चल्यो । तथापि गजल गायनमा भने त्यतिकै रूपमा आउन सकेन । त्रिसट्ठी सालपछि नेपाली गजल गाउनु पर्छ भन्ने अवधारणा उठ्न थाले । गजल रचना र गायनबारे कार्यपत्र पनि लेखिए । छन्द र बहरमा गजल रचिनु पर्छ भन्ने अनेकन गुठी, गोष्ठी कार्यव्रmम सम्पन्न भए । बहरका लागि ‘अनाम मण्डली’ ले विशेष पहलकदमी ग¥यो । गजललाई बहरको सिकन्जामा बाँध्नुहुन्न भन्ने विमति पनि उठे । एकरसता हुन्छ भन्ने मत जाहेर गर्नेहरू पनि निस्किए । यी आदि कुराले नेपाली गजल गायनलाई नेपाली स्रष्टाकै सतहमा प्रतिस्थापित ग¥यो । नेपाली गजल बहसको सतहमा आयो र विकसित बन्ने अवसर पायो ।
यही व्रmममा गजल गायन लिएर देखा परिन् गायिका सरोजा देवान । उनको एकल गायनमा ‘बहाना अनौठो’ सङ्गीत बुलु मुकारुङ (एल्बम २०६४) प्रकाशित भयो । ललिजन रावल, विष्णुबहादुर सिंह, रमेश पौडेल, शीतल कादम्बिनी, दीपक समीप, निमेष निखिल, सागर उदास, श्रेष्ठ प्रिया पत्थर, घनेन्द्र ओझा आदिका गजल रहेको ‘बहाना अनौठो’ पहिलो एकल गजल गायनको एल्बम थियो । यो एल्बम श्रोताबिच आएपछि गजल शास्त्रीय सङ्गीतको उपविधा हो भन्नेहरू निस्किए तर नेपाली गजल कस्तो हुनु पर्छ भन्ने बहस भने उठान गरिएन ।
यसपछि नारी स्वरमै दोस्रो एकल एल्बम ‘सम्भावना’ २०६६ लिएर देखा परिन् गायिका नीरा रानाभाट । एल्बममा एकल रचना कृष्णहरि बराल र सङ्गीत गैरे सुरेशको हो । गायिका रानभाट पेसाले पत्रकार पनि हुन् । यही व्रmममा ‘कादम्बिनी’ लिएर आए शीतल कादम्बिनी र गायक शिव परियार । ‘कहाँ थियौ तिमी रङ्गमञ्च उठेपछि आया’ै कृतिले विशेष चर्चा पनि बटुल्यो ।
गजलकार रावलले गजल वाचन गरी कृतिका रूपमा ‘एउटा बन्द खाम’ (२०६४) श्रोताबिच गजल सिडी निकाले । वाचन–तरन्नुम अर्थात् अर्धगायन शैलीमा गजल गोष्ठी अहिले पनि भइरहेका छन् । तर कृति आउन सकेका छैनन् । ‘लोकार्पण’ २०६८ एल्बम लिएर आइन् गायिका निसा देसार । गजल गायनको एकल एल्बम निकाल्ने निसा देसार तेस्रो गायिका हुन् । उनले गाएका गजल ‘तिमी कुन जमानामा छौ’ र ‘जमाना खराब छ’ आदि गजल चर्चित पनि बने । एल्बममा कृष्णहरि बरालका रचना साथै महेश खड्का, गैरे सुरेश आदिका सङ्गीत छन् ।
चर्चा र प्रसिद्धिका हिसाबले जगदीश समाल र अन्जु पन्तले गाएको ‘न बिर्से तिमीलाई नपाएँ तिमीलाई’ गजल गायनले २०६५–६६ भरि नै एकछत्र लोकप्रियता कायम ग¥यो । जसका गजलकार विपिन किरण र सङ्गीतकार महेश खड्काले यस क्षेत्रमा गजल शास्त्रीय सङ्गीतको उपविधा नै हो भन्ने लाटोकोसेरोहरूका एकोहोरो आँखा खोलिदिए । महेशकै सङ्गीतको ‘मबिना कसैकसैलाई मुस्किल छ पोखरामा’ प्रमोद खरेल, नेपाली गजलले त उपविधा खोज्दै र खोट्याउँदै टिपणी गर्नेहरूका मथिङ्गल नै सफा गरिदियो । जसले नेपालीपन भएको मौलिक स्वादको गजल नेपाली जनमनको बृहत्तर रोजाइ रहेको पुष्टि भयो । यही नेपालीपनको इच्छा आकाङ्क्षाले गजल गायनका परम्परामा व्रmमभङ्ग गर्दै नवीन साङ्गीतिक खुड्किलो खन्ने सुकार्य प्रारम्भ पनि ग-यो ।
सतसट्ठी अठ्सट्ठी साल आइपुग्दा नेपाली गजल गायनमा विभिन्न एल्बम प्रकाशनमा आए पनि तिनले त्यति चर्चा पाउन सकेनन् । नवराज लम्सालका केही गजल ‘आगाको राप जीवन आगैको ताप जीवन’ स्वर सत्यराज आचार्य र स्वरूपराजय आचार्य, ‘आज जून भुइँतिरै झरेछ’ स्वर शिव परियार, ‘मदिराको मातमा माया गर्छु नभन’ स्वर मनिला सोताङ ‘माया मागेँ के भयो त’ स्वर स्वरूपराज आचार्य, ‘आफैँ रानी महारानी’ स्वर सत्यराज आचार्य पनि प्रसारित भए ।
पछिल्लो चरणमा भीमनिधि तिवारीका गजल गायनमा आएका छन् । ती ‘धोको सबै पु-याऊ’ गायन गणेश पराजुली, ‘जानिनँ देह पहिले’ गायन रूपकुमार राई, निसा देसार, ‘प्रेम पथमा’ गायन पुष्पा पौडेल, ‘दिलको शान्ति’ गायन राई नवीन आदि हुन् । एल्बमकै रूपमा हरि लम्सालको सङ्गीतमा ‘पर्दा’ एल्बम निस्किएको छ भने नवराज सुब्बाको ‘लुकेको रहर’ विभिन्न कलाकारको आवाजमा साथै गायिका चञ्चलाको ‘फूलको धारले’ गजलका एल्बम प्रकाशित छन् । रचना सङ्गीत र गायिका चञ्चलालाई दीपक लिम्बू, शिव परियार, सोनाम बज्यू तामाङ, जैकी मोजाहू आदि सङ्गीतकर्मीले साथ दिएका छन् ।
अलिक अघिका गायक पुष्प नेपालीले उर्दु हिन्दी र कव्वाली शैली गजल निक्कै अघि नै गायनमा ल्याएका छन् । गायनमा साथ प्रवीण नरराज ढकाल र फत्तेमानले पनि दिएका छन् । नेपाली गायनमा पूर्वीय प्रभाव त उठानदेखि नै छँदै थियो तर हिजोआज गीत–सङ्गीतमा मात्र होइन साहित्य र सामाजिकतामा पनि अनेकन् प्रभावादि प्रविष्ट भइरहेका छन् ।
हिजोआज गायनमा आएका र चर्चा कमाएका गजलमा ‘जति बिर्सू तिम्रो याद’ शिव परियार, गजल सुरेश वाग्ले, एल्बम कृतिका रूपमा आएका दिनेश गौतमको ‘पैसा’ (गायक सं. पुस्तकप्रसाद) कल्पना श्रेष्ठको ‘कल्पुञ्ज’, ‘चर्चा गजलको’, माधव ढकालको रचना र गैरे सुरेशको सङ्गीत ‘प्रणय’ एल्बममा केही गजल ‘अभिप्सा’ भूपेन्द्र महतको, सङ्गीत टीका भण्डारी स्वयं र शिव परियार, ‘माया’ एल्बमका केही गजल सङ्गम सङ्गीत सन्तोष श्रेष्ठ, विश्व गजल प्रतियोगिता प्रथम भएको गजल ‘परदेशमा दुख्यो मन दुखाएरै रोएँ’, रचना उमा सुवेदी, आदि गजलका पनि चहलपहल निक्कै अगाडि बढेको पाइन्छ । नेपाली गायनले पनि त्यसरी नै साथ दिइरहेको छ ।
एक वर्षअघि मात्र प्रकाशित भएको ‘के लत बस्यो मलाई कहिले सुधार हुन्छ’ रचना डा प्रदीपकुमार मैनाली, स्वर÷सङ्गीत तिलकसिंह पेला, नेपाली गजल चर्चापरिर्चाको चुलिमा पुग्यो । यस गजलबाट स्पष्ट हुन्छ कि नेपाली गजल पनि श्रोताहरूको रुचि, रोजाइ र आदत बन्दैछ । तर हामीसँग एउटा अनुत्तरित प्रश्न भने छँदै छ । के नेपाली गजल गायन उर्दु वा हिन्दीभन्दा पृथक् हुन सक्दैन ? त्यतातिर नेपाली गजल र गायन क्षेत्रको दृष्टि जानुपर्ने देखिन्छ ।
नेपाली गजल रचना, सङ्गीत र गायनमा भ्रम पनि पैदा भएको छ । गजल तुकबन्दी मात्र मिलाउने हो वा सङ्गीत र गायनले पनि उत्तिकै संवेदनशील बन्ने हो ? गजलका संचरना पनि हुन्छ भन्ने विश्वास राख्ने हो ? वा गायनका हिसाबले नेपाली गजल कस्तो हुनु पर्छ ? यी प्रश्न समकालीन गजलवृत्तमा बिस्कुन छरिए झैँ देखिन्छन् । गायन र सङ्गीतका हिसाबले भन्ने हो भने नेपाली गजल नेपाली स्वादमा हुनु पर्छ । त्यसले नेपालीपनको विकासमा टेवा पु-याउँछ र आफ्नो छुट्टै विशिष्टता कायम गर्दछ ।
गजल छन्दमा लेखिन्छ । छन्दलाई नै अरबी भाषामा बहर भन्छन् । छन्द वर्णमात्रिक, मात्रिक र आक्षरिक गरी तीन प्रकारका हुन्छन् । नेपालीमा वर्णमात्रिक र आक्षरिक गरी दुई किसिमका छन्दमा गजल रचना भएको पाइन्छ । गजल लेख्नुपर्ने नियम हुँदाहुँदै पनि छन्द वा बहर मात्रै गजल हुँदैन । यसमा भावको प्रयोग, विम्ब तथ प्रतीकको प्रयोग साथै भाषाको विशिष्ट प्रयोग जरुरी हुन्छ । मुक्तकीय सामथ्र्य राख्ने सेरहरू यसका लागि आवश्यक हुन्छन् भने सहज ढङ्गले काफिया मिलाउनु पर्छ । पहिलो पङ्क्तिले उठाएको सन्दर्भलाई दोस्रो पङ्क्तिले समाधान गर्छ र श्रोता वा पाठकलाई वाह ! वाह ! भन्ने स्थितिको सिर्जना गर्छ । प्रायः हिन्दी तथा उर्दु गजल गायकीमा यस्ता हर्कतादि बढी नै गरिन्छन् ।
छन्द वा बहर नमिलेका तर गायन र सङ्गीतका हिसाबले बहुतै चर्चित, लोकप्रिय बनेका गजल पनि छन् । साथै भाव, विम्ब र प्रतीकका हिसाबले मजबुत नेपाली गजल पनि गायनमा आइसकेका छन् । सङ्ख्यात्मक रूपमा गजल रचना र कृति प्रकाशित भए पनि गायनमा भने कम आइरहेका छन् । नेपाली गजलसँग सङ्गीत र गायन आबद्ध भएर अगाडि बढ्नु जरुरी देखिन्छ ।
चाबहिल, काठमाडौँ