• ८ मंसिर २०८१, शनिबार

यहीँ स्वर्ग मेरो (कविता)

blog

लता पुष्प हाँगो झरीले भिजेको

चरी नाच्च हाँस्दै छ बेली फुलेको

झरी झम्म झम्मी परेको गरामा

त्यहीँ शान्ति रोपौँ भिजेको धरामा ।

टुसा अङ्कुराई सधैँ प्रेम फुल्छ

छरी सूर्य आभा सदिक्षा उमार्छ

कतै जानु पर्दैन यो पेट भर्न

कतै कुद्नु पर्दैन यो स्वर्ग खोज्न ।

उषाले चुमेका कुना कन्दरा छन्

त्यहीँभित्र न्याना अँगेनाहरू छन्

जहाँबाट मैले दियो बाल्न पाएँ

त्यहीँ ठाउँ खोज्दै म फर्केर आएँ ।

म रित्तो घडा हूँ तिमी प्यार भर्नू

तिमीमै छ पानी सुसाएर बग्नु

म यो प्राण छोडी कतै जान्नँ आमा 

यहीँ स्वर्ग मेरो यहीँ तीर्थ धाम ।