बैतडी समाचारदाता
बैतडी, मङ्सिर ८ गते । समयमै विद्युत् महसुल नतिर्ने ग्राहकबाट ८० लाख रुपियाँभन्दा बढी बक्यौता उठाउन विद्युत् वितरण केन्द्र बैतडीले लाइन काट्ने (लाका) अभियान सुरु गरेको छ । लाका अभियानमा एक राजनीतिक दल र ८४ वटा सरकारी कार्यालयसहित पाँच सय ग्राहक परेका छन् । मङ्गलबारदेखि शुक्रबारसम्म छ वटा सरकारी कार्यालय र २९ जना अन्य गरेर ५४ ग्राहकको लाइन काटिएको छ ।
मिटर रिडर भएको ६० दिन नाघिसक्दा पनि महसुल नतिर्ने ग्राहकको लाइन काट्न सुरु गरिएको बैतडी वितरण केन्द्रका प्रमुख इन्जिनियर जनार्दन पौडेलले बताउनुभयो । उहाँले लाइन काटिएका ग्राहकको बिजुली बन्द गरिएको जानकारी दिनुभयो । वितरण केन्द्रका इन्जिनियर पौडेलका अनुसार विद्युत् महसुलबापतको ८० लाख ९९ हजार ३६२ रुपियाँ बक्यौता उठाउन बाँकी छ । मिटर रिडिङ गरेको ६० दिन नाघिसकेका पाँच सय ७९ ग्राहकबाट उक्त रकम असुल गर्न बाँकी रहेको पौडेलले बताउनुभयो । लाइन काट्न सुरु गरेपछि बिहीबार नौ जना ग्राहकले ६३ हजार बक्यौता तिरेका छन् । लाइन काटिएका सरकारी कार्यालयले पनि चासो देखाएको उहाँले बताउनुभयो । लाइन काटिने सरकारी कार्यालयमध्ये ५९ वटा जिल्ला सदरमुकाम र २५ वटा नयाँ पाटनभित्रका रहेको वितरण केन्द्रले जनाएको छ । गत वर्ष बैतडी वितरण केन्द्रले लाइन काटेर ६४ लाख रुपियाँ बक्यौता उठाएको थियो ।
सात हजार घरधुरीमा बिजुली बल्ने
बैतडी वितरण केन्द्रले चालु आव २०८१/८२ मा जिल्लाका थप सात हजार घरधुरीमा बिजुली बाल्ने लक्ष्य राखेको छ । यो वर्ष जिल्लाका दुर्गम गाउँपालिका शिवनाथ, पञ्चेश्वर र सिगास गाउँपालिकामा बिजुली पु¥याउन काम सुरु भएको वितरण केन्द्र बैतडीका प्राविधिक माधवप्रसाद लेखकले बताउनुभयो । बैतडीमा हाल २५ हजार ३९० घरधुरी विद्युत्को पहुँच पुगेको छ । जिल्लाका कुल ४५ हजार घरधुरी रहेका छन् । बैतडीलाई दुई वर्षभित्र पूर्ण विद्युतीकरण गर्ने उद्देश्यले पाटन, मेलौली, सिगास र दोगडाकेदार गाउँपालिकामा ३३ केभी सबस्टेसन निर्माणको काम भइरहेको वितरण केन्द्रका प्रमुख पौडेलले बताउनुभयो ।