• ११ पुस २०८१, बिहिबार

लुम्बिनीमा हजार गुम्बा विहारको उद्घाटन

blog

तस्बिर : लुम्बिनी विकास कोष

कपिल ज्ञवाली

सिद्धार्थनगर, मङ्सिर ७ गते । बुद्ध जन्मस्थल लुम्बिनीस्थित पाल थुव्तेन सेडुप लिङ गुम्बा (हजार बुद्ध मन्दिर)को उद्घाटन गरिएको छ । कानिङ सेडुव लिङ गुम्बा सङ्गठन तथा विकास कोष परिवारले निर्माण गरेको गुम्बाको शुक्रबार एक समारोहका बिच उद्घाटन गरिएको हो । 

बौद्ध गुरु छोकी निमा रिन्पोछे, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा(खेन्पो छिमे)ले गुम्बाको औपचारिक उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा बोल्दै बौद्ध गुरु निमा रिन्पोछेले देश तथा विदेशका चन्दादाताहरुको सहयोगबाट हजार बुद्धको महाविहार निर्माण भएको भन्दै अब यसको संरक्षण सबैले गर्नुपर्ने बताउनुभयो । 

उहाँले बुद्ध भगवानको जन्मस्थल लुम्बिनीमा विहार निर्माण गर्न पाउँदा निकै खुशी लागेको बताउँदै आफूहरुलाई पूजाको वातावरण बनाइदिन आग्रह गर्नुभयो । यस्तै उद्घाटन कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पाे छिमे) ले लुम्बिनीमा ठूलो गुम्बा निर्माण हुनु लुम्बिनी र नेपालसँगै विश्वका शान्तिप्रेमीहरुका लागि गौरव भएको बताउनुभयो ।

उहाँले परमपूज्य गुरु निमा रिन्पोछेंले लुम्बिनीमा गुम्बा निर्माण गरेर बुद्ध दर्शनको प्रवर्धनमा ठूलो टेवा पुग्ने बताउनुभयो । "यो गुम्बा राज्यले नै निर्माण गर्नुपर्ने थियो, रिन्पोछें र विश्वका सहयोगदाताहरुले निर्माण गरेर बुद्ध दर्शनको अध्ययनमा ठूलो योगदान गर्नेछ," उहाँले भन्नुभयो । यसैगरी कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद चन्द्रकेश गुप्ताले लुम्बिनीमा विहारहरु निर्माण हुने कुराले बौद्ध पर्यटनमा ठूलो टेवा पुर्‍याउने बताउनुभयो । 

कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्धिन खान, लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई, लुम्बिनी सांस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजन, कोषका सदस्य सचिव सानुराजा शाक्य लगायतका व्यक्तिहरुको सहभागिता थियो । 

विहार उद्घाटन अघि मङ्सिर ४ गतेदेखि प्राण प्रतिष्ठान पूजा गरिएको थियो । पुण्य मङ्गल ज्ञान बर्सात नाम शुद्धि स्नानद्वारा प्राण प्रतिष्ठान, चन्द्र अमृत नामक स्नान, शाक्यमुनि बुद्धको साधना सोह्र स्थविरको स्तुति एवं पूजन गरिएको विहारका प्रमुख तथा रिन्पोछे ग्यालजोनले जानकारी दिनुभयो।

विश्व शान्तिको कामना, विश्व प्राणी जगतको कल्याणको कामनासहित छोकी निमा रिन्पोछेबाट सहस्र बुद्धहरुको अभिषेक एव प्रवचन गरेका थिए । महायानी परम्पराअनुसार भएको पूजामा बौद्ध लामा गुरु, आनी, भिक्षुभिक्षुणी, उपासक उपासिकाहरु, विदेशी पाहुनाहरु, स्वदेशी विशिष्ट व्यक्तिहरुको सहभागिता थियो । 

विहारको उद्घाटन लगत्तैको पूजामा पूर्व राजा ज्ञानेन्द्र शाहको उपस्थिति थियो । पूर्व राजा शाहलाई छोकी निमा रिन्पोछेले स्वागत गर्दै पूजामा सरिक गराएका थिए ।