• २८ वैशाख २०८१, शुक्रबार

नेतृत्वले अभिभावकत्व लिएका विद्यार्थी बेखबर

blog

काठमाडौँ, जेठ ४ गते । चार वर्षअघि विद्यार्थी भर्ना अभियान सञ्चालन गर्दा अर्कै अभियान पनि सञ्चालन भयो । त्यो अभियान थियो प्रधानमन्त्री, मन्त्रीदेखि अन्य राजनीतिक नेताले विद्यार्थीको अभिभावकत्व ग्रहण गर्ने तर त्यसपछिका वर्षमा त्यस्तो अभियानले निरन्तरता भने पाएन ।

निरन्तरता पाएन मात्र होइन अभिभावकत्व ग्रहण गरिएका कतिपय विद्यार्थीको खोज खबर नै भएन । यस्तो अभियान सञ्चालन गर्ने शिक्षा मन्त्रालय र त्यस मातहतका निकायमा अभिलेख पनि छैन । अनुगमनको पाटो बेग्लै भयो । त्यसैले राजनीतिक दलका नेताले अभिभावकत्व ग्रहण गरेका कतिपय विद्यार्थी यतिबेला सम्पर्कविहीन छन् । केहीले भने अबदेखि आफ्नै खर्चमा पढ्ने योजना बनाएका छन् । 

आर्थिक समस्याले विद्यालय जान नपाएका बालबालिकालाई पढाइमा सहज होस् भनेर २०७५ सालको विद्यार्थी भर्ना अभियानका क्रममा अभिभावकत्व ग्रहण गर्ने अभियान पनि सञ्चालन गरिएको थियो । सबैका लागि शिक्षा भन्ने विश्वव्यापी नारालाई आत्मसात् गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ साल वैशाख २ मा कर्णालीको रारा पुगेर विद्यार्थी भर्ना अभियानको शुभारम्भ गर्नुभएको थियो ।

 त्यतिखेर तत्कालीन प्रधानमन्त्री ओली, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसहित विभिन्न प्रदेशका मुख्यमन्त्री, दलका नेता, पालिकाका जनप्रतिनिधिलगायतले पढ्न नपाएका बालबालिकालाई विद्यालयमा भर्ना गराएर अभिभावकत्व ग्रहण गर्नुभएको थियो । अभिभावकत्व ग्रहण गर्नेले विद्यार्थीको पढाइ शुल्क, पोसाक, पुस्तक, कापी, कलमलगायतका सामग्री आफैँले उपलब्ध गराउने घोषणा गरिएको थियो । 

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार त्यतिखेर मुलुकभरका चार सय व्यक्तिले करिब एक हजार विद्यार्थीको अभिभावकत्व ग्रहण गरेका थिए तर अहिले ती विद्यार्थीको अवस्था के छ भन्ने विषयमा केन्द्र बेखबर छ ।

तत्कालीन शिक्षामन्त्री पोखरेलले धनुषा, सिराहा र मुगुका एक÷एक जना विद्यार्थीको अभिभावकत्व ग्रहण गर्नुभएको थियो । उहाँले नयाँ शैक्षिक सत्र सुरु हुन लागेकाले हालै धनुषा र सिराहाका विद्यार्थीलाई भेटेर स्टेसनरीलगायतका सामग्री प्रदान गरेको बताउनुभयो । तर राराका विद्यार्थीका बारेमा भने उहाँ आफैँ बेखबर रहेको स्वीकार गर्नुभयो । उहाँकैअनुसार ती विद्यार्थी सम्पर्कविहीन छन् । 

लामो समयसम्म ती विद्यार्थी र परिवारसँग सम्पर्क नभएकाले समस्या भएको बताउँदै उहाँले भन्नुभयो, “साथीहरूलाई ती विद्यार्थीको सम्पर्क पत्ता लगाउन भनेको छु । भेटिएमा जहाँ गएको भए पनि कम्तीमा १२ कक्षासम्मको पढाइमा सहयोग गर्नेछु ।” ती विद्यार्थीको पढाइ खर्च टार्न आफू सरकारमा रहेको समयमा विभिन्न बैठकबाट प्राप्त भएका भत्ता जम्मा गरेर सहकारीमा राखेको पनि उहाँले जानकारी दिनुभयो । 

तत्कालीन समयमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य रहनुभएका हालका महामन्त्री गगनकुमार थापाले पनि भर्ना अभियानलाई साथ दिँदै बूढानीलकण्ठ नगरपालिका–१३ की रेशिका श्रेष्ठको अभिभावकत्व ग्रहण गर्नुभएको थियो । उहाँले त्यसबेला रेशिकालाई बूढानीलकण्ठ नगरपालिका चुनिखेलस्थित जनउद्धार विद्यालयमा भर्ना गर्नुभएको थियो । 

रेशिका यसै वर्ष कक्षा ४ को परीक्षा उत्तीर्ण गरेको विद्यालयकी लेखापाल रजिना केसीले जानकारी दिनुभयो । अभिभावकत्व ग्रहण गरेपछि हालसम्म थापाले खर्च बेहोरिदिएको भए पनि यसै वर्षदेखि रेशिकालाई परिवारले आफ्नै खर्चमा पढाउन लागेको केसीले जानकारी दिनुभयो । उहाँका अनुसार रेशिकालाई परिवारले निजी स्कुलमा पढाउन लागेका छन् । 

तत्कालीन प्रधानमन्त्री ओलीको सचिवालयले भने आफूले अभिभावकत्व ग्रहण गरेका विद्यार्थीलाई अहिले पनि नियमित रूपमा पोसाक, पुस्तक, कापी, कलमलगायत खर्च उपलब्ध गराइरहेको जनाएको छ । ओलीले हालै मात्र हुम्ला लिमीका तीन बालबालिकालाई पनि पढाउने घोषणा गर्नुभएको छ । 

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पश्चिम चितवनको मेघौलीमा अल्पसङ्ख्यक समुदायका नौ वर्षीय अरुण मुसहर र साढे चार वर्षीय पत्रुस माझीलाई स्थानीय साझापुर माध्यमिक विद्यालयमा भर्ना गराएर अभिभावकत्व प्रदान गर्नुभएको थियो । 

Author
सूर्यप्रसाद पाण्डे

उहाँ शिक्षा र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।