• १२ पुस २०८१, शुक्रबार

मृतक युवा फुटबलरका परिवारले गरे एन्फामा तालाबन्दी

blog

धर्नामा बसेका मृतक युवा खेलाडीका परिवार ।

काठमाडौँ, मङ्सिर ६ गते । मकवानपुरको सिस्नेरी पहिरोमा परेर ज्यान गुमाएका ६ जना यु–१३ फुटबल खेलाडीका परिवारले बिहीबार अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालयमा ताला लगाएका छन् । 

गत असोज ११ गते इन्द्रसरोवर गाउँपालिका–३ टेकरमा सिस्नेरी खोलामा आएको बाढी र पहिरोमा वत्सला माविमा सञ्चालन भइरहेको एन्फा एकेडेमीमा अध्ययनरत अनुप घलान, दिवस बानियाँ, साइमन योञ्जन, रियान्स आचार्य, आदित्य बलपाकी र विकल रेग्मीको निधन भएको थियो ।

घटनाका पीडित परिवारले न्यायको माग गर्दै एन्फा मुख्यालयमा ताला लगाएका हुन् । मृतकका परिवारले सिस्नेरी घटना केवल प्राकृतिक प्रकोप मात्र नभएको र एन्फा एकेडेमीको थुप्रै लापरबाहीका कारण आफ्ना अबोध बालकले ज्यान गुमाएको भन्दै दोषीलाई काँडा कारबाहीको माग गर्दै आएका छन् । 

पीडित परिवारले न्यायको लागि नेपाल प्रहरी, एन्फा, राष्ट्रिय खेलकुद परिषद्, युवा तथा खेलकुद मन्त्रालय र प्रधानमन्त्रीसम्म घटनाको छानबिन गरी दोषीमाथि कारबाहीको माग गर्दै आएका छन् । यस विषयले संसदमा समेत प्रवेश पाएपनि आफूहरूले न्याय नपाएको धर्नामा बसेका पीडित परिवारको भनाइ छ ।