• ११ पुस २०८१, बिहिबार

सामुदायिक विद्यालयका पन्ध्र विद्यार्थीले एकै पटक निकाले एमबिबिएसमा नाम

blog

विद्यालयले आयोजना गरेको सम्मान कार्यक्रममा विद्यार्थी ।

बुटवल समाचारदाता

बुटवल, मङ्सिर ६ गते । बुटवल उपमहानरपालिका–१० मा अवस्थित सामुदायिक विद्यालय कालिका मानविज्ञान माध्यमिक विद्यालयका १५ जना विद्यार्थीले एकै पटक एमबिबिएसमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन् । विद्यालयबाट विभिन्न क्षेत्रको प्रवेश परीक्षामा सहभागी भई ६४ जना विद्यार्थीले स्नातक तह अन्तर्गतका विभिन्न सङ्कायमा पूर्ण छात्रवृत्तिमा नाम निकालेका छन् । 

जसमध्ये एमबिबिएसमा मात्रै १५ जना विद्यार्थीले पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन् । विद्यालयले एक कार्यक्रमको आयोजना गरी विद्यालयमा अध्ययन पूरा गरी नेपाल सरकारले लिएको विभिन्न क्षेत्रको प्रवेश परीक्षामा छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ ।

विद्यालयका प्रधानाध्यापक दिनेश थापाले खुला प्रतिस्पर्धामा एउटै विद्यालयमा पूर्ण छात्रवृत्तिमा एमबिबिएसतर्फ १५ जनाले नाम निकाल्ने कालिका नेपालकै पहिलो स्कुल भएको दाबी गर्नुभयो । 

उहाँले विद्यार्थीको कडा मेहनतका साथै विद्यालयको उत्कृष्ट शैक्षिक वातावरणले गर्दा नतिजा राम्रो आएको बताउँदै अहिलेको मेहनतलाई थप परिस्कृत बनाउँदै जान विद्यार्थीलाई आग्रह गर्नुभयो । विद्यालयबाट कक्षा १२ उत्तीर्ण भएका विद्यार्थीमध्ये १५ जनाले एमबिबिएसको परीक्षामा पूर्ण निःशुल्क छात्रवृत्तिमा नाम निकाल्न सफल भएका हुन् । 

यस्तै बिडिएसतर्फ पाँच जना, अप्टोमेट्रोतर्फ दुई जना, बिएमएलटीतर्फ दुई जना, बी फार्मतर्फ पाँच जना, बिएस्सी नर्सिङमा १३ जना, बिएस्सी भेटेरिनरीमा दुई जना, बिएस्सी एजीमा दुई जना, बिपिएचतर्फ तीन जना र इन्जिनियरिङतर्फ ११ जनाले नामा निकाल्न सफल भएका छन् । विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीले विद्यार्थीलाई बधाई तथा शुभकामना दिँदै आगामी दिनमा पनि अहिलेको जस्तै कालिकाको नाम उच्च राख्न विद्यार्थीसँग आग्रह गर्नुभयो । अध्यक्ष ज्ञवालीले शिक्षाका लागि दरिलो जग भनेको नै विद्यालय तह भएको भन्दै आफ्नो लक्ष्य निर्धारणका लागि विद्यार्थीले कडाभन्दा कडा मेहनत गर्न आग्रह गर्नुभयो । 

कालिका माध्यमिक विद्यालयमा आठ हजार विद्यार्थी अध्ययनरत छन् । गत वर्ष भएको एसइईको परीक्षामा कालिकाका एक जना विद्यार्थीले चार जिपिए ल्याएर उत्तीर्ण भएका थिए ।