• १२ पुस २०८१, शुक्रबार

अनलाइन जुवा सञ्चालन गरेको अभियोगमा पक्राउ

blog

भैरहवा समाचारदाता

भैरहवा, मङ्सिर ६ गते । अनलाइन सट्टेबाजी (जुवा) सञ्चालन गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालयले रुपन्देहीले १४ जनालाई पक्राउ गरेको छ । पक्राउ गरिएका सबै जना भारतीय नागरिक हुन् । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–३, सगुनीपथस्थित अस्फाल आलमको घरबाट अनलाइनमार्फत सट्टेबाजी जुवा सञ्चालन गरेको अवस्थामा मङ्गलबार उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नवीन पौडेलका अनुसार उक्त घरमा अनलाइन गेमको माध्यमबाट जुवा सञ्चालन गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोली तत्कालै पुगी उनीहरूलाई अनलाइनबाट जुवा सञ्चालन गरिरहेको अवस्थामा पक्राउ गरिएको हो । उनीहरूको साथबाट अनलाइन जुवा सञ्चालन गर्दा प्रयोग गरिएका विभिन्न उपकरण तथा सामग्री पनि प्रहरीले बरामद गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा भारत हरियाणा प्रदेश पासकुल्ला जिल्ला पिन्जोर पोस्ट, इन्दोर थाना बस्ने साहिल सोडा, उत्तराखण्ड रानिडिया जिल्ला ज्वालापुरका श्याम गुप्ता, उत्तर प्रदेश देवरिया जिल्ला गौरीबजार पोस्टनिवासी रवि जैसवाल, हरियाणा प्रदेश फरिदावाद जिल्ला खडकेला थानाका अनुराग सिंह, सोही ठाउँकै नितेश बर्मा, गोरखपुर जिल्ला मोतीराम पोस्ट अफिस विष्णुपुरा थाना बस्ने दीपक जैसवाल, गोरखपुर जिल्ला गाइन्ड पोस्ट अफिस बस्ने रजत कुमार छन् ।

गोरखपुर जिल्ला एम्स पोस्ट अफिस कुडाघाटका लक्की जैसवाल, गोरखपुर जिल्ला सन्तकबिर पोस्ट अफिस खलिलवाद थाना बस्ने सतेन्द्र कुमार, सोही ठाउँकै अवधेशकुमार, मोहित कुमार, गोरखपुर जिल्ला क्यान्ट थाना मोहदिपुर पोस्टका प्रियान्सु जैसवाल, सोही ठाउँका मनीष पासवान र आजमगढ जिल्ला सदर थाना पोस्ट बस्ने शिवम् सिंह पनि पक्राउ परेका छन् ।