• ६ मंसिर २०८१, बिहिबार

पहिरोले तिस घरपरिवारको उठिबास

blog

पहिरोले खानेपानीमा पुगेको क्षति ।

अमरराज नहर्की 

तनहुँ, मङ्सिर ६ गते । पहिरोले गर्दा तनहुँको भिमाद नगरपालिकाका विभिन्न वडा गरी ३० घरका बासिन्दाको उठिबास भएको छ । यस वर्षको वर्षाले गर्दा आएको बाढीपहिरोले  घर भत्किएर पूर्ण क्षति हुँदा उठिबास भएको हो । पहिरोबाट अधिकांश दलित समुदायका बासिन्दा प्रभावित छन् । 

भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले दिनुभएको जानकारी अनुसार कतिपय घर निसानै नरहने गरी भत्किएका छन् । वडा नं. ९ मा तीन घरमध्ये दुई घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ । त्यसै गरी नगरपालिकाका विभिन्न वडामा बाढीपहिरोले घर भत्किएर उच्च जोखिम भएपछि मानिस अन्यत्रै बसोवास गर्दै आएका छन् । विस्थापित घरधुरीको तथ्याङ्क सङ्कलन भइसकेको छ । नगरप्रमुख सुवेदीले भन्नुभयो, “विस्थापित परिवारसँग छलफल गरी समस्या समाधान गर्न लागेका छौँ । ३० घरका करिब १५० मानिसको उठिबास भएकाले जीवन गुजार्न कठिन भएको उहाँले जानकारी दिनुभयो ।

हालै बसेको कार्यपालिका बैठकले स्थलगत निरीक्षण गरी प्रभावित भएकाका लागि व्यवस्थापन गर्न विकल्पको खोजी भइरहेको उपप्रमुख शारदा खनालले बताउनुभयो । सुरक्षित वासस्थानका लागि प्राविधिकसहितको एक टोली गठन गरिएको उहाँले जानकारी दिनुभयो । 

खानेपानीका योजनामा क्षति 

यसै गरी भीमाद नगरपालिकामा यस वर्षको बाढीपहिरोले ३५ वटा खानेपानी योजनामा नोक्सान पुगेको छ । सानाठुला गरी उक्त खानेपानी योजनामा क्षति बनाएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले खानेपानी क्षेत्रमा विनियोजन गरेको करिब ५० लाख रुपियाँ बजेटले नधानेपछि विकास निर्माणको बजेट खर्च गर्नु परेको नगरप्रमुख सुवेदीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कार्यपालिका बैठकबाट निर्णय गरी विकास बजेटबाट खानेपानी योजना मर्मतसम्भारका लागि खर्च गरिएको छ ।” विकास निर्माणको करिब २५ लाख रुपियाँ खर्च गरिएको उहाँले जानकारी दिनुभयो ।