• १२ पुस २०८१, शुक्रबार

एकै किसानको चार सय मुरी धान

blog

धुर्कोटका मेघनाथ अर्यालले उत्पादन गरेको धान ।

तम्घास समाचारदाता

तम्घास, मङ्सिर ६ गते । गुल्मीमा व्यावसायिक धान खेती गरेका किसान मेघनाथ अर्यालले एकै सिजनमा चार सय मुरी धान उत्पादन गर्नुभएको छ । धुर्कोट गाउँपालिका–६, चौरासीका अर्यालले आफ्नो र लिजमा लिएको खेतबाट त्यति धान उत्पादन गर्नुभएको हो  ।

कोरोना महामारीका बेला सहर छाडेर गाउँ फर्केका अर्यालले आफ्नै करिब ७० रोपनी र लिजमा ४२ रोपनी गरी कुल ११२ रोपनी क्षेत्रफलमा धान खेती गर्नुभएको थियो । गाउँमा बाँझिँदै गरेको जग्गालाई लिजमा लिएर अर्यालले व्यावसायिक रूपमा धान, मकै उत्पादनलाई जोड दिनुभएको हो । उत्पादन भएको धान कुटेर चामल तराईमा बेच्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

जिल्लास्थित कार्यालयका कर्मचारी र जनप्रनिधिबिच उत्पादित थान प्रदर्शन गरिएको छ । आयातित चामलको मूल्य बढिरहेको समयमा जिल्लामै मिल स्थापना गरेर चामल निर्यात गर्न सके गुल्मी जिल्ला उर्वरभूमि रहेको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताउनुभयो । जिल्लामा पहिलो पटक व्यावसायिक रूपमा धान उत्पादन गर्ने कृषक अर्याल चामल निर्यात गर्ने अभियानमा रहेको भण्डारीले बताउनुभयो ।

अर्यालले यस वर्ष धान प्याकेजिङ गरेर बजारमा लैजाने तयारी गर्नुभएको छ । यस वर्ष सात लाखको धान बेच्ने लक्ष्य उहाँको छ । अर्को वर्ष मकैको आँटो र कोदो उत्पादन गर्दै खरिदसमेत गरेर बिक्री गर्ने सोचमा रहेको बताउनुभयो । यस वर्ष अर्यालले १५० मुरी मकैसमेत उत्पादन गर्नुभएको छ  । 

कृषक अर्याललाई धान प्रशोधन गर्ने मेसिन प्रदान गरेको धुर्कोट गाउँपालिकाका अध्यक्ष भसाल पोखरेलले बताउनुभयो । गाउँमा कृषि उत्पादन बढाउन पालिकाले विभिन्न प्रोत्साहनका कार्यक्रम गर्दै आएको उहाँले बताउनुभयो । 

पालिकाले पहाडी भेगको चिसो पानीले अर्गानिक रूपमा उत्पादन भएको धानको चामल जिल्ला र जिल्लाबाहिर निर्यात गर्न बजारीकरणमा पनि सहयोग गर्ने बताउँदै उत्पादित धानको चामललाई प्याकेजिङमा पनि पालिकाले सहजीकरण गर्ने गाउँपालिकाले जनाएको छ ।

धान खेतीसँगै अर्यालको फार्ममा अहिले माउ भैँसी २२ वटासहित ४२ वटा भारतबाट ल्याएका मुर्रा जातका भैँसी छन् । हाल यो फार्मबाट दैनिक एक सय लिटर भैँसीको दुध उत्पादन भइरहेको छ । तीन वर्षपहिले एक करोड रुपियाँभन्दा बढी लगानीबाट सुरु भएको व्यवसायबाट स्थानीय २० जनाले प्रत्यक्ष रूपमा रोजगारीसमेत पाएका छन् ।