• ५ मंसिर २०८१, बुधबार

कैलाली जिससमा टीका चौधरी भूल सर्वसम्मत हुँदै

blog

नेपाली काँग्रेसबाट जिसस प्रमुखका उम्मेदवार टीका चौधरी भुल ।

भावना जोशी                             

अत्तरिया, मंसिर ५ गते । जिल्ला समन्वय समिति (जिसस) कैलालीको प्रमुखका लागि नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले दर्ता गरेको उम्मेदवारी फिर्ता लिने भएको छ । सो पार्टीबाट रुपमती डंगौरा थारुले उम्मेदवारी दर्ता गर्नुभएको थियो । 

जिल्ला समन्वय समिति कैलालीमा नेपाली काँग्रेस र नेकपा (एमाले) ले गठबन्धन गरेपछि नागरिक उन्मुक्ति पार्टीले उम्मेदवारी  फिर्ता लिने निर्णय गरेको हो ।  नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डितले जिसस कैलालीको प्रमुख पदका लागि  उम्मेदवारी दर्ता गरिएको भए पनि पार्टीले उम्मेदवारी फिर्ता लिने निर्णय गरेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘कैलालीमा २५ वटा भोट मात्र हो । १३ भोटले विजयी हुन्छ,  कैलाली जिल्लामा नागरिक उन्मुक्ति पार्टी ठुलो  दल हो । गठबन्धनका कारण उम्मेदवारी फिर्ता लिने निर्णय गरेका हौँ । हामी पनि गठबन्धन सरकारमा छौँ ।’ 

उम्मेदवारी फिर्ता लिने सहमति भएको नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता गङ्गाराम चौधरीले जानकारी दिनुभयो । बुधवार बिहान ९ देखि १ बजेसम्म उम्मेदवारी फिर्ताको समय रहेको छ । उम्मेदवारी दर्ता गरेको नागरिक उन्मुक्तिले फिर्ता लिएपछि काँग्रेसका उम्मेदवार टीकाकुमारी चौधरी भुल निर्विरोध निर्वाचित हुनु हुनेछ । 

भुल कैलारी गाउँपालिका –२ बाट दलित महिला सदस्यमा विजयी हुनुभएको थियो । कांग्रेसबाट जिल्ला समन्वय समिति, कैलालीको प्रमुखमा विजयी भएका पदमबहादुर कलेलको २०७९ पुस २३ गते निधन भएपछि सो पदमा उपनिर्वाचन हुन लागेको हो   । 

भुलको समर्थकमा कैलारी गाउँपालिका अध्यक्ष राजसमझ चौधरी रहनुभएको छ ।  प्रस्तावकमा धनगढी उपमहानगरपालिका उपमेयर कन्दकला राना थारु हुनुहुन्छ ।